१६ पुष २०७५, सोमबार

जयपृथ्वी नगरपालिकाका नगर प्रमुख (मेयर) वीरेन्द्र खड्का मिजासिलो एवं भद्र व्यवहार भएका लोकप्रिय नेता हुन् । खड्काले २०४१ सालमा अनेरास्ववियुदेखि राजनीति सुरु गरेका थिए । उनी २०४५ सालदेखि शिक्षण पेसामा पनि आबद्ध भएका थिए ।  नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बझाङको दुई कार्यकाल सचिव र दुई कार्यकाल अध्यक्ष सम्हालेका खड्का  गत वर्षकाे स्थानीय तहकाे निर्वाचनमा शिक्षण पेसा त्यागेर पूर्णकालीन राजनीतिमा हाेमिएका हुन् ।

तत्कालीन नेकपा एमालेबाट  जयपृथ्वी नगरपालिकाको प्रमुखमा विजयी भएका खड्कासँग डेढवर्षे कार्यकाल र नगरपालिको भावी योजनाका बारेमा न्युज २४ नेपालका लागि बझाङ समाचारदाता रिदम सिंहले गरेकाे कुराकानी :

  • तपार्इ मेयर बन्नुभएकाे डेढ वर्ष भयो । यस नगरपालिकाका सेती नदीपारिका जनताहरू अझै कष्टमा छन्, सेती नदीकाे जस्तै पानकोटको पक्की पुल अझै बन्न सकेको छैन । यसका लागि तपाईँले हालसम्म के पहल गर्नुभयो ?

सेतीपारिका पाँचवटा वडामा कच्ची सडक निर्माण भइसक्दा पनि पक्की पुल निर्माण हुँदाका कारणले आधाजति नगरवासीहरू यातायातको सुविधाबाट वञ्चित भएका छन् । म निर्वाचित भइसकेपछि छिटो काम सम्पन्न गर्नका लागि कार्यपालिकाको बैठकको निर्णयसहित सम्बन्धित निर्माण कम्पनी र कार्यालयलाई घचघच्याउने काम गर्दै आएको छु ।

अहिले टेन्डर प्रकियामा अगाडि बढेको जानकारीसम्म पाइएको छ तर पनि यो असाध्यै ढिला भएकै छ । त्यसैले छिटोभन्दा छिटो पानकोट पुलको निर्माण गरियोस् भन्ने मेरो जोडदार माग रहन्छ । थप ढुंग्री-चैनपुर जोड्ने पक्की पुलको माग समेत गरेका छौँ ।

  • माओवादी केन्द्र र एमाले मिलेर बनेकाे पार्टी भएकाले काममा कुनै अप्ठ्याराे त भएकाे छैन ?

चुनाव लड्दाखेरीको अवस्था र हालको अवस्थामा काम गर्न कुनै समस्या भएको छैन । पार्टी एकीकरण हुँदा अझै काम गर्न सहज भएको छ । एकीकरणपछि जिल्ला र स्थानीय कमिटी गठन नभइरहेको अवस्थामा हामीलाई मार्गनिर्देशन गर्ने अभिभावक नभएको महसुस चाहिँ भईरहेको छ । त्यसैले छिटोभन्दा छिटो स्थानीय कमिटीहरू गठन भइदिए अझै सहज हुने थियो भन्ने मेरो अनुभव छ ।

  • हाम्रो जस्तो दुर्गम क्षेत्रमा नगरपालिका बन्यो, जनताले नगरपालिकाबाट प्रवाह हुने सेवा-सुविधा कम पाए तर नगरपालिकाले अनावश्यक रूपमा जनताको ढाड सेक्ने गरी विभिन्न वस्तुहरूमा कर लगाएको छ भन्ने आम जनगुनासो छ नि, यसमा के भन्नुहुन्छ?

पहिलो कुरा त जनताले नगरपालिकाबाट प्रवाह हुने सेवा-सुविधामा कमी भएको भन्ने कुरामा म सहमत छैन । किनकि हामीसँग भएको स्रोत साधन र जनशक्ति लाई हामीले न्यायोचित रूपले वितरण गरेका छौँ र कार्य जिम्मेवारी दिएका छौँ । के हुन सक्छ भने यो नगरपालिका दुर्गम र पछाडि परेकाे, पूर्वाधार विकास कम भएकाे र आरन्तरिक स्रोत समेत न्यून भएको कारणले जनताका सबै चाहनाहरू सम्बोधन हुन नसकेका होलान्, यी चाहनाहरूलाई क्रमिक रूपले सम्बोधन गरिँदै जानेछ ।

जहाँसम्म करको कुरा छ, नेपालको संविधान २०७२ ले दिएका स्थानीय तहहरूले लगाउन पाउने एकल सुची बमोजिमको कर सरोकारवालासँग छलफल गरी राजस्व परामर्श समितिमार्फत निर्णय गराई नगरसभाबाट अनुमोदन गराएर लगाएका हौँ । आजसम्म यस नगरपालिकामा कर बढी भयो भन्ने गुनासो हामीकहाँ कमै आएको छ र पनि त्यस्तो अचाक्ली कर पनि लगाइएको छैन । हिजोका दिनमा स्थानीय निकाय गाविस जिविसले लिइरहे जति नै कर हामीले लिएका छौँ ।

  • तपाईँले चुनावका जनतासामु गरेका वाचा तथा प्रतिबद्धता झन्डै डेढ वर्षमा पनि पूरा भएका छैनन् भन्ने जनगुनासो पनि छ, के भइरहेछ यसतर्फ ?

हो, हामीले चुनाव लडिरहँदा हाम्रो पार्टीको घोषणापत्र र हाम्रा प्रतिबद्धताहरू मार्फत नगरवासीसँग भोट मागेको हामीले बिर्सेका छैनाैँ । जनताका सम्पूर्ण आवश्यकता र मागहरू त पुरा भएका छैनन् । किनकि असीमित आवश्यकता र सीमित स्रोत साधनहरूको बिचमा तालमेल मिलाउँदै प्राथमिकताको आधारमा काम अगाडि बढाइराखेका छौँ ।

यहाँ डेढ वर्षको सवाल अायाे । हामीले एक आ.ब.को बजेट कार्यान्वयन गरेका छौँ । दोस्रो आ.ब.को बजेटको कार्यान्वयनको चरणमा छौँ यस बीचमा नगरपालिकालाई आवश्यक पर्ने ऐन, नीति, नियमावलीहरू निर्माण गरेका छौँ । वडा कार्यालयदेखि कर्मचारी व्यवस्थापन गर्ने काम गरेका छौँ । १५ किलो मिटर कच्ची सडक समेत निर्माण गरी गाडी गुड्ने बनाएका छौँ ।

चैनपुर बजारमित्र अव्यवस्थित टहराहरू हटाई पक्की सडकसमेत चौँडा पारेका छौँ । विभिन्न ठाउँमा सिँचाइ पोखरी, खानेपानी निर्माण भएका छन् । महिला सशक्तीकरणका क्रियाकलापहरू समेत गरेका छौँ । कृषकहरूलाई मल तथा बीउको समेत व्यवस्था गरिएको छ । शिक्षा स्वास्थ्य क्षेत्रको सुधारका लागि परामर्श समिति गठन गरी सुधार ल्याउने पहल जारी छ ।

विद्युतको प्रसारण लाइन बिस्तारका लागि पनि पहल गरेका छौँ । चैनपुरमा खानेपानी निर्माणका लागि समेत आवश्यक पहल गरिएको छ । अहिले पूर्ण सरसफाइ नगर, पूर्ण साक्षरता नगर बनाउने अभियानकाे तयारीमा छौँ ।

  • सामाजिक विभेद, विसंगतिहरु- छाउपडी, महिला हिंसा, छुवाछुत अादिकाे अन्त्य गर्न सामाजिक जागरण ल्याउनुपर्ने होइन र ? यसमा नगरपालिका कहाँनेर चुकेको छ ?

यसमा पहिलो कुरा त रुढीवादी परम्पराको अन्त्य गर्न हरेक मान्छेको चेतना नै परिवर्तन गर्नुपर्ने देखिन्छ । यसका लागि हामीले वडा-वडास्तरमा महिला, दलित, ज्येष्ठ नागरिक, अपाङ्ग, बालबालिका, किशोर-किशोरी, युवा लक्षित बजेटको व्यवस्था गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र यी वर्गलाई सीप विकास एवम् क्षमता विकासका तालिम उपलब्ध गराई आर्य-आर्जनमा जोड्ने काम गरिरहेका छौँ ।

  • नगरपालिकाभित्र अझै पनि फोहोर व्यवस्थापन हुन सकेको छैन । गाउँघरतिर अझै पनि जताततै दिसा-पिसाब गरेकाे देखिन्छ भन्ने कुराहरू पनि छ नि ?

बजारको फोहोर व्यवस्थापन गर्न डम्पिङ साइडको व्यवस्था गरी ‘एक घर र एक डस्टबिन’ राख्ने, सार्वजनिक ठाउँमा फोहर फाल्ने भाँडा राख्ने सोच हामीले बनाएका छौँ । पूर्ण सरसफाइ अभियान गर्दै जाँदा यी सबै समस्या स्वत: समाधान हुँदै जाने छन् ।

  • जनताका वास्तविक समस्या भएको ठाउँमा बजेट नपरेको र बजेट कार्यकर्तामुखी बनाएको छ भन्ने आरोप लाग्ने गरेको छ । किन यसाे गर्नुभएकाे ?

हामी नगरपालिको बजेट विनियोजन गर्दा प्रक्रियागत ढङ्गले गएका छौँ । बस्ती स्तरको छलफल, टोलस्तरीय भेला, वडा समितिको बैठक र विभिन्न समितिहरूकाे बैठक, योजना तर्जुमा, कार्यपालिका बैठक नगरसभा लगायतमा व्यापक छलफल तथा बहस गरी प्राथमिकताका आधारमा योजना छनौट गरेका हाैँ र त्यसैमा बजेट हालेका छौँ ।

न्यून बजेटको कारण माग भएजति योजनाहरू नसमेटिएका हुन सक्छन् । कार्यकर्तामुखी योजनाहरू कुनै पनि छैनन् । सबै जनतामुखी योजनाहरू बनाएका छौँ ।

  • यो वर्षको तपाईँको नगर बजेटका बिशेषताहरु के-के छन् ?

आ.ब. २०७५/७६ को बजेटका विशेषताहरू नगर-नगरको लागि आधारभूत पूर्वाधारहरूको विकास गर्नु, शिक्षा, स्वास्थ्य, पोषणमा सुधार गरी मानव विकासको स्तरमा सुधार गर्नु, कृषि तथा पशु विकासको माध्यमबाट उत्पादन वृद्धि गर्नु, लैङ्गिक समानता तथा सामाजिक समाबेशिकरणको विकास गर्नु, जनताको सेवा प्रवाह र सुशासनको प्रत्याभूति गर्नु रहेका छन् ।

विशेष गरी नगर गौरवका आयोजनामार्फत ग्रामीण सडक, खानेपानी, सिचाइँमा जोड दिएका छाैँ । वडास्तरीय र नगरस्तरीय योजनामार्फत जनतालाई प्रत्यक्ष लाभ पुग्ने खालका योजनाहरू निर्माण गरिएका छन् । विभिन्न कोषहरूको निर्माण गरेर सामाजिक समावेशीकरण सुशासनको प्रत्याभूति विपद ब्याबस्थापन समेत बजेटका विशेषता हुन् ।

  • यो बजेटलाई कार्यान्वयन गर्न चुनौतीहरू के-के छन् ?

चुनौतीको सवालमा भन्नुपर्दा योजनाको लागत बमोजिमको बजेट उपललब्ध गराउन नसक्दा योजनाहरू दिगो रूपमा सान्चालन नहुने हुन् कि भन्ने देखिन्छ साथै पछिल्लो समय उपभोक्ताहरूले गर्ने जनश्रमदान र जनसहभागिता हुने चलनमा कमी आउँदा समयभित्रै योजनाहरू सम्पन्न गर्न नसकिने अवस्था सिर्जना भएकाे छ ।

  • स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारबीच समन्वय जति हुनुपर्ने हो, त्यति भएको छैन भन्ने सुनिन्छ, के याे साँचाे हाे ?

पक्कै पनि नयाँ व्यवस्थाको नयाँ ब्यबस्थापन गर्नुपर्ने भएकाले केही अलमल भएको देखिन्छ । जसका कारण बेलामा ऐन कानुन नियमावलीहरू बन्न सकिरहेका छैनन् । योजनामा दोहोराेपना देखिन्छ । स्थानीय तहले प्रक्रिया पुर्‍याएर माग गरेका योजनाभन्दा फरक योजनामा प्रदेश र केन्द्र सरकारबाट रकम विनियोजन भएको देखिन्छ । यसले गर्दा पूरानै व्यवस्थाकाे जस्ताे माथिबाट लाद्ने काम भइरहेकाे हाे कि भन्ने महसुस भएकाे हाे । तापनि अापसी समन्वयमा सुधार आउँदै गएकाे छ ।

  • अब तपाईँ आफ्नो कार्यकालभित्र कस्तो नगर बनाउने योजनामा हुनुहुन्छ ?

मेरो कार्यकालभित्र यो नगरलाई स्वच्छ, सफा, सुन्दर नगर बनाउने छु । आर्थिकरुपले सशत्त, भौतिक रूपले सम्पन्न, सुशासनयुक्त, सूचना प्रविधिमा पहुँच भएको समृद्ध नगरपालिका बनाउने चाहना छ, त्यही अनुरूप कार्य अगाडि बढाएका छौँ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV