१६ पुष २०७५, सोमबार
  • ज्योतिकुमार पन्थी

बर्दिया । रेणु सिजापति (३९) दलित अधिकारका क्षेत्रमा क्रियाशील नाम हाे । सामाजिक सेवामा उहाँको सानैदेखिको रुचि र लगाव थियाे । अहिले पनि जातीय छुवाछुत तथा भेदभाव विरुद्ध उहाँ निरन्तर लागिपर्नुभएको छ ।

विशेषगरी दलित महिलाको हक–अधिकारका विषयमा वकालत गर्दै आउनुभएकी उहाँ दलितका मुद्दालाई राज्यले सामाजिक र राजनितिक मुद्दा नबनाउँदासम्म समस्या समाधान नहुने तर्क गर्नुहुन्छ ।

बुवा भुवनसिंह सोव र आमा सतीदेवी सोवको कोखबाट डोटी जिल्लाको सिलगढी (हाल सदरमुकाम) मा सालमा जन्मनुभएकी रेणु पछिल्लो समय दलित महिलाहरूको हक–अधिकारका क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

उहाँ ९ वर्षको हुँदा परिवारै बसाइसराइ गरेर काठमाडौमा गए। स्कुले जीवनदेखि नै सामाजिक सेवामा रुचि राख्नुहुने उहाँ १४ वर्षकै उमेरबाट दलित महिलाहरूको अधिकारका लागि लडिरहनु भएको छ । देशभित्र ३५ जिल्ला र देशबाहिर विभिन्न देशको भ्रमणसमेत गरिसक्नु भएकी रेणुसँग अनेकौँ अनुभव छन् । देश तथा विदेशमा समेत महिला हक–अधिकारको विषयमा कुरा उठाउने सिजापति अहिले दलित महिला संघको केन्द्रीय महासचिव भएर काम गरिरहनु भएको छ ।

पछिल्लो समय दलित महिला संघ बर्दियाले जिल्लाको बढैयाताल गाउँपालिका र गुलरिया नगरपालिकामा समेत दलित महिलाहरूको हक–अधिकारका विषयमा विभिन्न प्रकारका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । कार्यक्रमको सुपरिवेक्षण दलित महिला संघ केन्द्रीय कार्यालयले गर्ने गरेको उहाँ बताउनुहुन्छ ।

सरकारले विभिन्न समयमा जातीय छुवाछुत तथा भेदभाव विरूद्धका अन्तर्राष्ट्रि सन्धि–सम्झौतामा हस्ताक्षर गर्ने गरेको भए पनि देशभित्र ती प्रभावकारी कार्यन्वयन भने नगर्ने गरेका कारण दलित महिलाहरूको समस्या समाधान हुन नसकेको रेणुको बुझाइ छ ।

स्कुले जीवनदेखि नै सामाजिक सेवामा व्यस्त रेणु नेपालमा ३३ सय ५० वर्षदेखि नै जातीय छुवाछुत तथा भेदभाव गरिँदै आएको बताउनुहुन्छ । नेपालमा ६३ प्रतिशत दलितहरू भोकमरीमा रहेको बताउँदै पहाडमा १५ प्रतिशत दलितहरू भुमिहीन अवस्थामा रहेको र तराईमा ४४ प्रतिशत दलितहरू भूमिहीन अवस्थामै रहनु निकै विडम्बनापूर्ण रहेकाे उहाँ बताउनुहुन्छ ।

नेपालको कुल गरिबी २३ प्रतिशतमा झरेको सरकारी तथ्यांक छ । त्यो गरिबीको पनि ४२ प्रतिशत हिस्सा दलित समुदायको रहेको उहाँले बताउनुभयो । सामाजिक एवं जातीय विभेदविरुद्धको अभियानलाई सबैले सघाउने हो र निरन्तर लागिपर्ने हो भने परिवर्तन गर्न सकिन्छ भन्नेमा उहाँ विश्वस्त हुनुहुन्छ ।

हाल दलित महिला संघले बर्दियाले गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकामा समूह गठन गर्ने, समुहमा बीजपुँजीका लागि आर्थिक सहयोग गर्ने र महिलाहरूलाई सशक्तीकरण गर्दै आयमूलक कामहरूमा समेत उनीहरूलाई अग्रसर गराउने काम गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV