१५ पुष २०७५, आईतवार
  • सञ्चिता घिमिरे

काठमाडौँ,  (रासस) । गाउँमा ल्होसार नमनाएको वर्षौं बित्दासमेत लमजुङकी रीता गुरुङले गाउँमा ल्होसार मनाएको बिर्सनुभएको छैन । ल्होसार शुरु हुनुभन्दा केही दिन पहिलेबाट नै गाउँमा उल्लास छाउथ्यो । सबै एक ठाउँमा भेला भएर पकाउने, खाने, नाच्ने गाउने गरेर रमाइलो गर्ने गरिएको उहाँले बताउनुभयो ।

 काठमाडौँ आएको केही वर्ष उहाँले गाउँ सम्झेरै मात्र यो दिन कटाउनुभयो । अघिल्लो वर्षदेखि भने उहाँ टुँडिखेलमा आयोजना हुने कार्यक्रममा सहभागी हुन थाल्नुभएको छ । धेरै मान्छेका भीडमा थोरै आफ्ना मान्छे भेट्दा पनि उहाँलाई खुशी लाग्ने गर्छ । “गाउँमा नै जस्तो रमाइलो त कहाँ हुनु र ?”, रीता भन्नुहुन्छ, “तैपनि सबै आएको ठाउँमा गुरुङकै परम्परागत पहिरनमा चिनेजानेका एकै ठाउँमा भेट्दा रमाइलो लाग्छ ।” रीताले जस्तै दोलखाकी जयन्ती गुरुङले गाउँको जतिकै रमाइलो नभए पनि काठमाडौँको ल्होसार आफन्त भेटाउने चाडका रुपमा लिनुभएको छ ।

देशभरका सबै गुरुङ समुदाय भेला भएको ठाउँमा गाउँभरमा चिनाजानसँग यो चाड मनाएको जस्तो हुँदैन । भीडमा कता छन् आफन्त भनेर खोज्ने र फोटो खिच्नेमा नै दिन बित्छ । भनेको बेलामा यो काठमाडौँमा आफन्त भेट्न कहाँ सजिलो छ र ? उहाँले भन्नुभयो, “काठमाडौँ भएकासँग फोटो खिच्ने अनि एक ठाउँमा खाजा खाएर मनाउनुपर्छ ।”

देशभरका गुरुङ समुदायले तमु ल्होसार मनाइरहँदा काठमाडौँको टुँडिखेल आज देशकै कुनै जिल्लाको जस्तो घना बस्तीको ‘गुरुङ गाउँ’ बनेको छ । नातिनातिनादेखि हजुरबुबा हजुरआमासम्मले आफ्नो जातीय पहिचान झल्कने कपडा लगाएर यो वर्षको तमु ल्होसार मनाए । राजधानीमा रहेका झण्डै दुई दर्जन गुरुङ जातिका समाजले विभिन्न झाँकी प्रदर्शन गरे । गुरुङका नमूना घर, गुरुङ समुदायले प्रयोग गर्ने सामग्री उनीहरुले साथमा बोकेका देखिन्थ्यो । उनीहरुले गाउँकै जस्तो गीत गाए र नृत्य देखाए । अहिले मिडियामा चलेकादेखि लोप हुन लागेको सङ्गीत प्रस्तुत गर्दा गुरुङ समुदाय मात्रै होइन अरु धेरैको ध्यान तानेको देखिन्थ्यो ।

१२ कक्षाको पढाइसकेका सुरज गुरुङ काठमाडौँमा नै जन्मनुभएको हो । पोखरा घर भए पनि उहाँ काठमाडौँमा नै हुर्कनुभयो । गाउँबाट टाढा भए पनि आफ्नो समुदाय, वेषभूषा र संस्कृतिप्रतिको माया कम नहुँदो रहेछ । भाङ्रा (गुरुङ समुदायका पुरुषले लगाउने लुगा) लगाउँदा र ल्होसार मनाउँदा उहाँलाई रमाइलो लाग्छ । उहाँले भन्नुभयो, “आफ्नो संस्कृति जोगाउन हामी आफैँ लाग्नुपर्छ ।”

जीवनको सात दशक काट्नुभएकी झपट कुमारी गुरुङले काठमाडौँमा ल्होसार मनाउन थाल्नुभएको पाँच वर्ष भयो । गाउँको जस्तो रमाइलो माहोल शहरमा हुँदैन । चिनेकोभन्दा भीडमा नचिनेका धेरै भेटिन्छन् । तैपनि परिवारका सबै सदस्यसँगै उहाँ टुँडिखेल आउनुभएको थियो । उहाँले भन्नुभयो, “आफ्नो ठाउँमा पो सबै चिनेजानेका हुन्छन् र रमाइलो हुन्छ, यहाँ त दिन बिताउने मेलो मात्रै पो हो ।”

पहिले गुरुङ समुदायले मात्रै मनाउने गरेकामा अहिले यो अरु जाति र समुदायमा समेत फैलँदैछ । कपनकी सुस्मा खड्का गुरुङकी छोरी जस्तै देखिने गरेर टुँडिखेल आउनुभएको थियो । साथीहरु धेरै जनासँगै गुरुङको लुगा लगाएको उहाँ बताउनुहुन्छ । सधैँ आफ्नो चाडपर्व मनाउने र वेषभूषा लगाउँदाभन्दा फरक संस्कृतिमा भिज्दा रमाइलो हुने उहाँको अनुभव छ ।

देशका सबै प्रदेशमा छरिएर रहेका गुरुङ समुदायले आ–आफ्नो ठाउँमा नयाँ वर्षको स्वागत गरिरहँदा काठमाडौँमा स्थायी वा अस्थायीरुपमा बसोबास गर्दै आएका गुरुङ समुदायले टुँडिखेलमा भेला भएर ल्होसार मनाएका हुन् । कौडा, मारुनी, घाटु नाच, सोरठी नाचलगायतका नाच उनीहरुले प्रस्तुत गरेका थिए । ‘गुरुङ गाउँ’ को झल्को दिने धेरै कुरा टुँडिखेलमा देखिए पनि पाका उमेरकाले भने चाडका दिन गाउँ नै सम्झिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV