१५ पुष २०७५, आईतवार
  •  कृष्ण पाण्डे

बुटवल । प्रदेश नं ५ को अस्थायी राजधानी तथा व्यापारिक केन्द्रविन्दु मानिने बुटवलमा गत पुष ५ गतेदेखि सुरु भएको लुम्बिनी एक्स्पो २०१२ तथा अन्तर्राष्ट्रिय व्यापार मेला उत्साहजनक रुपमा संचालन भईरहेको छ ।

विगतका मेलाहरुमा प्राय दर्शकहरुको कम भीड देखिने बुटवलमा यसपालि भने भीड उत्साहजनक देखिएको छ । “स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार बिस्तार भन्ने नाराका साथ बुटवल मण्डपमा सुरु भएको हो ।

औद्योगिक क्षेत्रको सन्तुलित र समन्वयात्मक विकास गरी कृषि र उद्योगमा आधारित निर्यातमुखी स्वदेशी उत्पादनको निर्यात प्रवद्र्धनमा मेलाले मुख्य जोड दिएको छ ।

१७ गतेसम्म चल्ने मेलामा आजसम्म झण्डै पाँच लाख दर्शकले अवलोकन गरिसकेका छन् भने र १५ करोडको को कारोबार भैसेकेको कोषाध्यक्ष दिपक अधिकारीले बताए, दर्शकहरुको उपस्थिती र कारोबारको स्थितीले हामि सफल भएको उनको भनाई छ ।

मेलामा अटो पेभेलियन, कृषि प्रविधि, सेवामुलक, सूचना प्रविधि, इलेक्ट्रोनिक्स, जुता चप्पल, दैनिक उपभोग्य सामान, गार्मेन्ट्स, निर्माण सामग्री, घरेलु तथा हस्तकला र होटल तथा रेष्टुरेन्टका समेत ६ सय भन्दा बढी स्टल राखिएको मेला व्यवस्थापक सरोज पोख्रेले जानकारी दिए ।

मेलामा व्यवस्थित रुपमा कृषि प्रविधि, माछा पालन, मौरी पालन तथा विभिन्न कृषिका आधुनिक प्रविधिहरुसँग साक्षात्कार समेत बन्न पाईनेछ । नेपालमै पहिलोपटक माटोविना तरकारीहरु फलाउने हाइड्रोपोनिक प्रविधि, नर्सरीको समेत प्रदर्शनीमा राखिएको छ । लुम्बिनी हाइड्रोपोनिक रुपन्देहीले अत्याधुनिक हाईड्रोपोनिक प्रविधिबाट विषादी रहित तरकारी तथा विरुवाहरु थोक तथा फुटकर विक्री गरेको र उपभोक्ताको माग बढिरहेको सो प्रविधिका विज्ञ तथा सञ्चालक पिताम्बर आचार्यले बताए ।

यसैगरी मेलामा बुटवलको ऐतिहासिक महत्व बोकेको जितगढी किल्लामा नेपाली र अंग्रेजको लडाईँ भैरहेको डमि समेत प्रदर्शनमा राखिएको छ । त्यसैगरी नेपाल चिनाउने सगरमाथा र प्रवेशद्धारमा राखिएको लुम्बिनी चिनाउने मायादेवीको मन्दिरपनि मेलाका थप आकर्षक हुन् ।

मेलामा फोटो प्रर्दशनी, विभिन्न खेलकुद तथा मनोरञ्जनका विधाहरु छन् भने मेलामा कलाकारहरुको प्रर्दशन देखि विभिन्न डान्स आईडल तथा भलिबल, लोकदोहोरी प्रतियोगिता समेत रहेको छन् ।

पुषको समयमा साविकभन्दा बढि जाडो हुने र व्यापारीक दृष्टिले समेत यसलाई असर पार्ने हुँदा मेला र महोत्सवमा बढि रौनक देखिन्छ । फेसनजस्तै बनेको मेला, महोत्सवहरुको घट्दो चाखकाबीच रुपन्देही व्यापार संघले आयोजना गरेको यो मेलाले भने थप हौसला दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV