१५ पुष २०७५, आईतवार
  • रिदम सिंह

बझाङ । सुदुरपश्चिम प्रदेशका सभामुख अर्जुन थापाले ग्रामीणका सर्वसाधारण ब्यक्तिहरुले सरकार भएको अनुभूति गर्न थालेको बताउनु भएको छ ।

सिंहदरबारबाट हुने कामहरु ग्रामीण वस्तीहरुमा नै सहज तरिकाले पाउन थाले पछि सर्वसाधारण ब्यक्तिहरुले सरकारको अनुभूति गर्न थालेको उहाँको भनाइ छ । तर अहिलेका स्थानीय तहहरु र प्रदेश सरकारले गरेका काम तथा गतिविधिहरुको गलत प्रचार तथा नकारात्मक तरिकाले हेर्ने र ब्याख्या गर्ने गरेका कारण जनतामा भ्रम सृजना भएको सभामुख थापाको ठम्याई छ ।

नकारात्मक कुराहरु भन्दा सकारात्मक कुराका सबै सञ्चार माध्यमले जोड दिनुपर्ने उहाँको सुझाव छ । जिल्लामा रहेका स्थानीय तहका न्यायिक समितिलाई क्षमता विस्तारका लागि सहजीकरण कार्यक्रमको उद्घाटन गर्नका लागि बझाङ पुग्नु भएका सभामुख थापाले अब सहीलाई सही र गलतलाई गलत भन्न आवश्यक रहेको बताउनुभयो । उहाँले आफन्तले गरेका गलत कामलाई सही र अर्काले गरेका सही कामलाई पनि गलत भन्ने प्रवृति नै विकासको बाधक भएको स्पष्ट पार्नु भयो ।

एक फरक प्रसंगमा बोल्दै सभामुख थापाले सुदूरपश्चिमको राजधानी देशकै नमुना राजधानी बन्ने समेत दावी गर्नु भयो । सबैको सहमतिका आधारमा नै राजधानी राख्ने ठाँउ र प्रदेशको नामाकरण गरेका कारण अब राजधानीमा बन्ने सबै संरचनाहरु सबै जातजाति भाषा सहाउँदो बनाउने बताउनुभयो । साथै प्रदेश सरकारले अहिले सम्म १७ वटा कानुन निर्माण गरि सकेको तर प्रदेश सरकारले अहिले सम्म केहि पनि कामहरु गर्न सकेन भन्नु गलत भएको समेत बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV