आधुनिक नेपाल निर्माण र राष्ट्रियताप्रति पृथ्वीनारायण शाहको योगदानबारे चर्चा



प्रकाशित मिति : Dec 30, 2018

काठमाडौँ । पृथ्वीनारायण शाहको २९७ औँ जन्मजयन्तीकाे सन्दर्भ पारेर राष्ट्रिय एकता दिवस तथा २९७ औँ पृथ्वीजयन्ती मूल समारोह समितिले शनिबार यहाँ आयोजना गरेको ‘नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह’ विषयक विचार गोष्ठीमा अाधुनिक नेपालको एकीकरणमा शाहले खेलेको भूमिकाबारे चर्चा भएकाे छ ।

नेकपाका नेता तथा पूर्वमन्त्री भीम रावलले देश निर्माणमा पृथ्वीनारायण शाहकाे विशेष योगदानलाई बिर्सन नहुने बताउँदै हामी सबै जातजाति मिलेर राष्ट्रिय हितलाई संरक्षण गर्नुपर्ने धारणा राखे । उनले स्वाभिमान भएको व्यक्तिले मात्र मुलुकको एकीकरण गर्न सक्षम हुने भन्दै पृथ्वीनारायणमा त्यो स्वाभिमान प्रष्ट भएको चर्चा गरे ।

नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री डा रामशरण महतले नेपालको इतिहासमा पृथ्वीनारायण शाह सबैभन्दा महत्वपूर्ण सपुत भएको चर्चा गर्नुभयो । उहाँले राजा यक्षमल्लले पनि नेपालको एकीकरण गरे पनि पछि आफ्नो तीन छोरालाई काठमाडौँ, ललितपुर तथा भक्तपुर विभाजन गरिदिएका कारण नेपाल टुक्राटुक्रा राज्यमा परिणत भएको चर्चा गरे ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले पृथ्वीनारायण शाहको नेपाल एकीकरणबाट चीन र भारतले पनि प्रेरणा हासिल गरेको बताउँदै पृथ्वीलाई आततायीको दृष्टिले हेर्न नहुने विचार व्यक्त गरे ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठले जापान, फ्रान्स, जर्मन, इटली, बेलायत आदि मुलुकले आफ्नो सीमा विस्तार गरिरहेका बेला नेपालले पनि आफ्नो सार्वभौम रक्षाका लागि सीमा विस्तार गर्नु महत्वपूर्ण कार्य रहेकाे बताए ।

उहाँले पृथ्वीनारायण शाहले गरेको सीमा विस्तारलाई आफूले विस्तारवादीका रुपमा नभई एकीकरणका रुपमा स्वीकार गर्ने बताए ।

प्राध्यापक लालबाबु यादवले काठमाडौँका मल्ल राजाले पनि त्यसबेला तराईका चेलीबेटीसँग विवाहबारी गरेको प्रसङ्ग उल्लेख गर्दै ती राजाले काठमाडौँमा मैथली संस्कृति तथा साहित्यको विकास गर्न योगदान गरेको चर्चा गरे ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com