१५ पुष २०७५, आईतवार

काठमाडाैँ । गुरुङ समुदायले आज तमु ल्होसार अर्थात् आफ्नाे नयाँ वर्ष मनाउँदै छन् । पुरानो वर्षलाई बिदाई गरी नयाँ बर्षलाई स्वागत गरेर गुरुङ समुदायले तमु ल्होसार मनाउने गर्दछन् ।

‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई गुरुङ समुदायले मनाउने नयाँ बर्षलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाउने गर्दछ ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरण एवं चालसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

Image result for tamu losar

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा ती समुदायले यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको गुरुङ समुदायको भनाई छ । तिथिका कारण तमु ल्होसार विभिन्न मितिमा परे पनि विशेषगरी पौष १५ लाई आधार मान्ने गर्दछ ।

तमु ल्होसारको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रपति विद्यादेवी भण्डारी लगायतका दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन् ।

पूर्वमा चाक्चाकुर

उता पूर्वी पहाड र धरानलगायत क्षेत्रमा कुलुङ समुदायले पनि आजै मिनारी दाचाम् निङदोङ ‘चाक्चाकुर’ चाड मनाउँदै छन् । याे पनि उनीहरुकाे नयाँ वर्षकाे रुपमा मनाइने एक मुख्य चाड हाे । कुलुङ भाषामा मिनाको अर्थ मान्छे र मिनारीको अर्थ मान्छेको पाखुरीले भन्ने हुन्छ । यसैगरी दाचामकाे अर्थ भण्डार वा ढुकुटी हो र निङदोङकाे अर्थ ‘नयाँ वर्ष’ भन्ने हाे । यसरी सुरु हुने नयाँ वर्षलाई ‘येले सम्वत’ पनि भन्ने गर्छन् । ‘चाक्चाकुर’ले चासुम् अर्थात् अन्नको सह तथा पुस महिनालाई जनाउँछ ।

यसरी मानव पाखुरीको बलबाट फलेर भण्डारण गरिएको अन्नको नयाँ वर्षमा सह होस् र नयाँ सालमा अनिकाल नलागोस् भनेर पितृ र प्रकृतिलाई नयाँ यामको प्रारम्भमा पुज्नु नै मिनारी दाचाम निङदोङ चाक्चाकुर हो । वर्षभर लगाइएको खेतीपाती पुस (कुलुङ महिना चाक्चाकुर) लाग्दा उठाइ सकिएको हुने र किसान फुर्सदिला हुने भएकाले याे चाड पुस १५ मै पारेर मनाउने गरिन्छ । सूर्यकाे उत्तरायण गति सुरु भएसँगै यसैदिनबाट  अघिल्लो वर्ष सकिएको र नयाँवर्ष सुरु भएको याे समुदायले मान्ने गर्छन् ।

पश्चिममा पुषे पन्ध्र

सुदूरपश्चिमबासीहरुले आजकाे दिनलाई ‘पुषे १५’ काे नाममा मनाउने गर्छन् । स्थानीय मौलिक पर्वका रुपमा पुषे पन्ध्र पर्व मनाउँदै आएकाे पाइन्छ । आज सबैभन्दा लामाे र चिसाे रात हुने मान्यताअनुसार साँझदेखि राति अबेरसम्म मीष्ठान्न परिकार बनाई खाँदै एकआपसमा भेला भएर रमाइलाे गरी मनाउने चलन छ । बातै अर्थात लाेककथाहरु सुन्ने/सुनाउने गरी राति अबेरसम्म रमाइलाे गर्दै जाग्राम बस्ने गर्छन ।

आजको दिन तरुल, सखरखण्ड, फर्सी, पिँडालु, चाखु/सख्खर र माडा लगायत परिकार खाँदै जीउ तताउने गरिन्छ । त्यस्तै आजको दिनमा वनपूजा पनि गरिन्छ । प्राय: गाउँठाउँमा वनमै गएर सेल, पुरी, झँजे (चामलको पिठोबाट बनाईने परिकार) आदि मिष्ठान्न पक्वानहरु पकाएर दिनभरि नै रमाइलाे गर्ने गरिन्छ । साथै आज वनजङ्गलमा काम नगर्ने र वञ्चरो, हँसिया, बनारो (घाँसपात, दाउरा बान्ने रसी) लगायतका सामाग्रीको पूजा समेत गरिन्छ ।

याे चाड पनि सूर्यकाे माेसनसँगै सम्बन्धित छ । पुष १५ पछि दिन लामाे हुँदै जाने र रात छाेटिँदै जाने तथा सूर्यकाे उत्तरायण गति सुरु भएर धरतीमा तापमान बढ्दै जाने विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV