१५ पुष २०७५, आईतवार

काठमाडाैं ।  कुलुङ समुदायका प्रमुख पर्व मिनारी दाचाम् (चाक्चाकुर) काे अवसरमा ‘कण्डम वितरण’ समाचारप्रति कुलङ सङ्घले आपत्ति जनाएको छ । नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।

महाकुलुङ गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरिप्रसाद आचार्यले पर्वको अवसरमा  नियोजित तथा सामाजिक संरचनामा खलल पुग्ने गरी  कण्डम वितरण गर्ने काम गरेकाे  विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आचार्यले दिएको ‘फुटबल प्रतियोगिता र चाक्चाकुर मेलालाई ध्यानमा राख्दै स्वास्थ्य चौकी छेस्कामले कण्डम वितरण गरेको’ अभिव्यक्ति  निन्दनीय भएको कुलुङ  सङ्घको ठहर छ ।

आफ्नो समुदायको पवित्र पर्वको अवसरमा लाग्ने मेलालाई  नियोजित तथा सामाजिक संरचनामा खलल पुग्ने समाचार संप्रेषण भएकाले कुलुङ समुदायलाई स्तब्ध बनाएको कुलुङ सङ्घको निष्कर्ष छ ।

कुलुङ समुदायको पवित्र पर्व हर्षोल्लासका साथ मनाउँदै गर्दा स्थानीय सरकारको रूपमा रहेको महाकुलुङ गाउँपालिका पनि गैह्र जिम्मेवार बनेको विज्ञप्ति मार्फत आरोप लगाइएको छ ।

यस घटना लगत्तै महाकुलुङ गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक आचार्यले सार्वजनिक रूपमा अभिव्यक्ति सच्याउनु पर्ने जरी विज्ञप्तिमार्फत जनाइएको छ ।

शुक्रवार एक राष्ट्र दैनिक पत्रिकाको अनलाइनमा ‘चाकचाकुरमा यौन दुर्घटना रोक्न कण्डम वितरण, होटेलमा समेत राखियो’ भन्ने शीर्षकमा समाचार प्रकाशन भएको थियो । यद्यपि आपत्तिपछि समाचारकाे हेडलाइन सच्चाइएकाे छ ।

साे समाचार आएपछि कुलुङ समुदायप्रति गलत धारणा राख्दै सामाजिक सञ्जालमा अभिव्यक्ति दिई रहेका छन् । कुलुङ समुदायले त्यस्ता कार्य र समाचारले आफूहरूको अस्मिता माथि आँच पुराएको भन्दै आक्रोश व्यक्त गर्दै आएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV