१४ पुष २०७५, शनिबार

काठमाडौं । मुलुकभर चिसो बढेसँगै उच्च भेगमा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले मुलुकभर चिसो बढेको हो । योसँगै हुम्ला, जुम्ला, डडेलधुरा, मनाङ, मुस्ताङ, दोलखा, सोलुखुम्बु, तेह्रथुम, संखुवासभालगायत जिल्लामा हल्का हिमपात भएको छ । पछिल्लो २४ घण्टा यता जुम्लामा सबैभन्दा बढी चिसो छ । त्यहाँको न्यूनतम तापक्रम माइनस ७ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ ।

यस्तै, दोलखा जिरीको माइनस ४ दशमलब ५ र मुस्ताङ जोमसोमको माइनस २ मापन गरिएको छ । हिमालीसहित पहाडी जिल्लाका उच्च क्षेत्र सेताम्य भएका छन् । हिमपात भएसँगै त्यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ । स्थानीयलाई घर बाहिर निस्कनसमेत समस्या भएको छ । बृद्धबृद्धा र बालबालिका बढी प्रभावित भएका छन् ।

हिमपातले बालीनाली फस्टाउने भएकाले किसान भने दंग छन् । अधिक चिसोको कारण सोलुखुम्बुको माथिल्लो क्षेत्रका होटल बन्द गरिएको छ । दोलखाको कालिञ्चोकसहित शैलुङ, जिरी, खरिढुंगा क्षेत्रमा हिमपात भएको छ । हिमपातले तेह्रथुम र संखुवासभाका डाँडाकाँडा पनि सेताम्मे भएका छन् । काठमाडौंमा आज न्यूनतम तापक्रम १ दशमलब ५ डिग्री सेल्सियस मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंसहित मुलुकभरको तापक्रम अझै घट्दा चिसो बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV