१४ पुष २०७५, शनिबार
  •  अमर काफ्ले इनरुवा

दोस्रो रामधुनी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि डीसीटी फुटबल क्लब सुनसरीले जितेको छ ।

आज भएको फाइनल खेलमा आयोजक रामधुनी आर्दश क्लबलाई २ – ० गोल अन्तरले पराजित गर्दै डीसीटीले उपाधि चुमेको हो । बिजयी टिमकालागि निशान लिम्बु र उमेश राईले गोल गरेका थिए ।

खेलको पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफको सुरुवाती अवस्थाबाटै डीसीटीका खेलाडी आयोजक आदर्श क्लब विरुद्ध हावी बनेको थियो । रामधुनी आर्दश क्लबका खेलाडीले पाएका केही सुन्दर अवसर भने गोलमा परिणत हुन् सकेन ।

प्रतियोगिताको बिजेता डीसीटी सुनसरीले शिल्ड सहित नगद १ लाख एक हजार पुरस्कार पाएको छ । उपबिजेता टोली आयोजक रामधुनी आर्दश फुटबल क्लबले ५१ हजार प्राप्त गरेको छ ।

फाइनल खेलको म्यान अफ दी म्याच उमेश राई घोषित हुँदा म्यान अफ दी सिरिज नवराज कार्की र उत्कृष्ठ गोलकर्ता निशान लिम्बु भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि पूर्वराज्यमन्त्री दीपक खड्का सहित प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला, आयोजक संस्थाका अध्यक्ष केशव खड्का र सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले बिजयी टिम सहित खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण गर्नु भएको थियो ।

पुष ७ गतेबाट संचालन भएको प्रतियोगितामा आयोजक सहित झापा, धनकुटा, उदयपुर, एपिएफ, उर्लाबारी मोरङ, दार्जेलिङ र डीटीसी सुनसरी फुटबल क्लबले सहभागिता जनाएका थिए ।

रामधुनी नगरपालिका वडा नम्वर ४ को संयोजनमा सम्पन्न प्रतियोगिताको मूख्य प्रायोजक भने सोलुसन कन्ट्रक्सन कम्पनी प्रालि काठमाण्डौं र न्यू धनलक्ष्मी हार्डवेयर झुम्का रहेका थिए ।

युवा खेलाडीहरुलाई प्रोत्साहनका अलावा खेलकुद प्रतिको आर्कषण बढाउन प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक समेत रहनुभएका रामधुनी आर्दश संस्था रामधुनी ४ का अध्यक्ष केशव खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV