१४ पुष २०७५, शनिबार
  • रिदम सिंह,

बझाङ, १४ बझाङ । बझाङ जिल्लामा देखा परेको ‘पीपीआर रोग’ नियन्त्रणमा आउन थालेको छ । बाख्रा र भेडाका देखा परेको यो रोग केही समयअघि मात्रै फेला परेको थियो । यस रोगका कारण बझाङ जिल्लामा एक सय भन्दा बढी भेडा बाख्रा मरेका छन् ।

पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीका ल्याब परीक्षण गर्दा रीपीआर रोग पत्ता लागेको हो । यो रोग बझाङ जिल्लाको साइपाल गाँउपालिकामा सबै भन्दा धेरै देखा परेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बझाङका निमित्त कार्यलय प्रमुख बाल्मिकी प्रसाद जोशीले बताए । अहिले यो रोग नियन्त्रणमा आई सकेको उनले जानकारी दिएका हुन् । यो रोग बझाङ र बैतडीको सीमाना सबै भन्दा धेरै देखा परेको थियो ।

यसै रोगका कारण बैतडीको सिगास गाँउपालिकामा ८६ भन्दा बढी भेडा बाख्रा मरी सकेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीका पशु स्वास्थ्य प्राविधिक विसन सिंह विष्टले बताए । रोग नियन्त्रण गर्नका लागि साइपाल गाँउपालिकामा ३ हजार भेडा बाख्रामा भ्याक्सिन लगाई सकिएको छ ।

अझै भ्याक्शिन लगाउने काम तीब्र रुपमा भइरहेको छ । यस्तै जिल्लाको खप्तड छान्ना गाँउपालिकामा ६ सय डोज भ्याक्शिन बाख्रा र भेडामा लगाइएको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बझाङका निमित्त कार्यलय प्रमुख वाल्मिकी प्रसाद जोशीले बताए ।

यस्तै थलारा गाँउपालिका, केदारस्युँ र विथ्थडचिर गाँउपालिकामा समेत ६,,,६ सय डोज भ्याक्शिन लगाई सकिएको र भ्याक्सिन लगाउने काम तीब्र रुपमा भइरहेको उनले जानकारी दिए । यस्तै यस वर्ष भरी बझाङ जिल्लामा ७० हजार डोज भ्याक्सिन लगाई सक्ने लक्ष्य भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बझाङले राखेको छ ।

यस्तै बैतडी र दार्चुल्ला जिल्लामा समेत भेडा बाख्रामा भ्याक्सिन लगाउने काम तीब्र रुपमा भइरहेको छ । बैतडी जिल्ला र दार्चुल्ला जिल्लाका लागि भन्दै भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीले २० हजार डोज भ्याक्सिन खरिद गरी भ्याक्सिन लगाउने काम भई रहेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीका पशु स्वास्थ्य प्राविधिक विसन सिहँ विष्टले बताएइका छन् ।

बैतडी जिल्लामा समेत यो रोग नियन्त्रणमा आई सकेको उनको भनाई छ । यो एउटा भाइरस भएका कारण एकै समयमा धेरै जस्तो भेडा बाख्रा रोग देखा पर्न सक्ने पशु स्वास्थ्य प्राविधिकहरुले बताएका छन् । यो रोग लागि सकेपछि उपचार गर्नु भन्दा पूर्व तयारी गरी भेडा बाख्रामा भ्याक्सिन लगाउन आवश्यक रहेको जोशीले बताए ।

यसको लक्षण पखाला लाग्ने, मुखमा घाउ हुने, मुखमा चोकर दले जस्तो देखिने, एकै गोलका धेरै भेडाहरु मर्ने, भेडा बाख्रामा ज्वरो आउने, नाकबाट सिगान बग्ने, आँसु फाल्ने गर्दछन् । यो लक्षण देखा परेको केही भेडा बाख्रा २४ घण्टा र केही भेडा बाख्रा ४८ घण्टा भित्र मर्ने बढी सम्भावन हुने भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका निमित्त कार्यलय प्रमुख जोशीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV