१४ पुष २०७५, शनिबार

काठमाडाैँ । मुलुकभर चिसो बढेसँगै पहाडी एवं हिमाली जिल्लाहरुमा हिमपात भएकाे छ । चिसाेले जनजीवन कष्टकर बनेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले मुलुकभर चिसो बढेको छ भने हिमाली जिल्लामा निरन्तर हिउँ परेसँगै जनजीवन कष्टकर बनेको छ । पछिल्लो २४ घण्टायता मनाङमा तापक्रम माइनस २१ डिग्रीसम्म झरको छ ।

उता, सोलुखुम्बुमा पनि यो वर्षकै सबैभन्दा चिसो महसुस गरिएको छ । हिमाली जिल्ला सोलुखुम्बुमा तापक्रम माइनस १८ डिग्रीमा झरेको छ । चिसोका कारण स्थानीयलाई दैनिक कार्य सञ्चालन गर्न तथा बाहिर निस्कन समेत समस्या भएको छ । चिसोका कारण माथिल्लो क्षेत्रका धेरै जसो होटलहरु समेत बन्द भएका छन् ।

यता, काठमाडाैँकाे तापक्रम पनि हालसम्मकै न्युन विन्दूमा झरेकाे छ । अाज बिहान काठमाडाैँकाे तापक्रम १ डिग्री सेल्सियस मापन भएकाे हाे ।

दोलखाको कालिञ्चोकसहित उच्च भेगमा पुनः हिमपात भएको छ । दोलखाको प्रसिद्ध धार्मिकस्थल कालिञ्चोकसहित शैलुङ, जिरी, खरिढुङ्गालगायतका स्थानमा हिमपात भएको हो । यता, वर्षासँगै भएको हिमपातले तेह्रथुम र संखुवासभाका डाँडाकाँडा सेताम्मे बनेका छन् । गएरातिबाट हिमपात सुरु भएपछि तीनजुरे–मिल्के–जलजले क्षेत्रका डाँडाकाँडा सेताम्मे बनेका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं लगायत मुलुकभरको तापक्रम अझै घट्ने छ भने चिसो अझै बढ्नेछ । अाज राति देशका अधिकांश भागमा तापक्रम शुन्य डिग्रीभन्दा तल झर्ने अनुमान गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV