१३ पुष २०७५, शुक्रबार

बमजन आश्रममा रहेका ४ जना बेपत्ता

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १४ का सञ्चलाल वाइवा
हेटौंडा, रंगशालाकी फूलमाया रूम्बा (डोल्मो)
नुवाकोटकी कर्मा तामाङ (चुन्मो)
र बाराका सुरेश आलेमगर
लामो समयदेखि आफुलाई मैत्री धर्मको गुरु दावी गर्दै आएका र ‘कथित’ लिटिल बुद्ध भनिएका रामबहादुर बमजनको आश्रममा बस्दै आएका यिनीहरु अहिले परिवारको सम्पर्कमा छैनन् ।

‘मैत्रेय बुद्ध’, ‘लिटिल बुद्ध’ लगायत नामबाट चर्चित बनेका बमजनको आश्रममा रहेका यिनीहरु लामो समयदेखि सम्पर्कविहीन रहेका कारण परिवारले खोजी गरिदिन प्रहरीलाई गुहारेका छन् ।

तपस्वीको भेषधारी बमजनको आश्रमबाट आफ्ना परिवारका सदस्य बेपत्ता बनाइएको भन्दै विभिन्न जिल्लामा ४ वटा उजुरी परेको छ । बमजनको आश्रम गएका आफ्ना बुबा सञ्चलाल वाइवा बेपत्ता भएको भन्दै खोजिदिन महेन्द्र वाइवाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएका छन् । त्यस्तै, बमजनको आश्रममा डोल्मो नामले परिचित हेटौंडाकी फूलमाया रूम्बाको खोजीका लागि पनि मकवानपुर प्रहरीमा निवेदन परेको छ ।

मकवानपुरका प्रहरी प्रमुख एसपी बुद्धिराज गुरुङले निवेदन परेको पुष्टि गर्दै बेपत्ता बनाइएका भनिएका व्यक्तिको परिवारसँग विस्तृतरुपमा बुझ्ने प्रयास गरिएको जानकारी दिए ।

परिवारका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका १४ स्थित वनस्पति चोक बस्ने सञ्चलाल वाइवा बमजनको आश्रमबाट ४ वर्षदेखि बेपत्ता छन् । बमजनको सिन्धुपाल्चोक आश्रममा बसेका सञ्चलाल २०७१, चैतबाट हराएका हुन् । परिवार आश्रममा खोज्न जाँदा सन्चलाल आश्रमबाट निस्किसकेको जवाफ पाए । त्यसयता भेटिएका छैनन् । त्यसैगरी, २०६८ सालदेखि बमजनको सिन्धुपाल्चोक बडेगाउँस्थित आश्रममा बस्दै आएकी डोल्मो २०७१, फागुनदेखि बेपत्ता छिन् ।

बम्जनको विश्वास पात्र रहेका वाराका सुरेश आलेमगर पनि २०७२ को भुइँचालोपछि बेखबर छन् । लामो समयदेखि बमजनसँगै बस्दै आएका सुरेशको खोजीका लागि परिवारले जिल्ला प्रहरी कार्यालय बारामा निवेदन दिएको छ । शुक्रबार बाराका प्रहरी प्रमुख सानुराम भट्टराईले टेलिफोनमार्फत परिवारका तर्फबाट निवेदन आएको जानकारी दिए ।

नुवाकोट म्यगङ गाउँपालिका–३, देउरालीकी चिनीमाया तामाङ पनि ६ वर्षदेखि बेपत्ता भएको भन्दै खोजी गरिदिन आग्रहसहित जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । २९ वर्षीया आनी चुन्मोडोल्मा तामाङ बम्जनको आश्रमबाट हराएको भन्दै उनकी माइली दिदी गंगामायाले उजुरी गरेकी हुन् । उजुरीमा ०६८ मा सिन्धुलीमा बम्जनको आश्रममा पढ्न गएकामा २०६९ असोजमा बहिनी र मकवानपुरकी पासाङ तामाङसँग घर आई एक दिन बसेको र आश्रम जान्छौं भनी फर्किएकामा त्यसपछि सम्पर्कविहीन रहेको उल्लेख छ । यसबारे हामीले नुवाकोटका प्रहरी प्रमुख एसपी वसन्त बहादुर कुँवरसँग टेलिफोनमा बुझेका छौं ।

हराएका ब्यक्तिका परिवारले बमजनकै आश्रमबाट उनीहरु बेपत्ता पारिएको दाबी गरेका छन् । तर, बमजन आश्रमले भने उनीहरु आश्रमबाट निस्किसकेको दावी गर्दै आएका छन् ।

बम्जनका अन्य विवादहरु

लामो समयदेखि बम्जनका अनुयायी बनेकाहरु अहिले सम्पर्कमा छैनन् । परिवारले आफ्नो तरिकाले धेरै खोज्दा पनि उनीहरु नभेटिएपछि परिवारले खोजतलासको लागि प्रहरीमा निवेदन दिएका छन । निवेदनमा बम्जनको नाममा जाहेरी त दिएका छैनन् तर उनी प्रत्यक्ष रुपमा जोडिएका छन । आफ्नो आश्रममा रहेका मानिसहरु हराउँदा पनि उनले खोज्ने प्रयास गरेनन् । परिवार खोज्न जाँदा पनि उनले यहाँ कत्ति आउँछन कत्ति जान्छन भन्ने गैरजिम्मेवार जवाफ दिएर पठाउने गरेका छन । उनको आश्रमका मानिसहरु बेपत्ता हुनुमा उनको संलग्नता होला नहोला तर उनी संग जोडिएको यो विवाद पहिलो भने होइन ।

रौतहट घर भएकी एक युवती २०७१ साल साउन २८ गते सर्लाहीको पत्तथरकोट स्याङकोडाँडामा अवस्थित धर्मगुरु राम बहादुर बम्जनको आश्रममा पुगिन् । उनी आफूलाई ‘लिटिल बुद्ध’ दावी गर्ने बम्जनको आश्रम अर्थात् गुम्बामा आनी बन्नका लागि त्यहाँ पुगेकी थिएन् । ज्ञान लिएर मुक्ति पाउन आश्रम पुगेकी आनीहरुमाथि धर्मगुरु भनिने बम्जनले यौन दुब्र्यबहार गर्ने गरेको उनको भनाई थियो ।

धर्मगुरुले दुब्र्यबहार मात्रै होईन, २०७३ साल साउन २० गते राति नौ बजे गुरु भनिने बम्जनले जबरजस्ती करणी गरेको कुरा उनले पत्रकार सम्मेलन गरेरै बताएकी थिइन ।

बम्जनबाट आफू बलात्कृत भएपछि उनले आश्रम छाड्ने र प्रहरीमा उजुरी गर्ने योजना बनाइन् । तर, बम्जनकी श्रीमती र बम्जनको धम्कीले उनी पछि हटिन । तर आश्रममा बस्नै नसक्ने भएपछि गत असार २२ गते उनले आश्रम छाडिन् । जब आश्रम छाडिन्, तब उनी महिला अधिकारीकर्मीको सम्पर्क आइन् । महिला अधिकारकर्मीकै सहयोगमा उनीले प्रहरीमा बम्जनविरुद्ध उजुरी दिन पुगिन तर दुई वर्ष अघिको घटना भएका कारण प्रहरीले उजुरी लिन मानेन ।

त्यस्तै बम्जनले सन् २०१२ मा स्लोभाककी एक महिलालाई दुई महिनासम्म बन्धक बनाएको आरोप लागेको थियो । र सन् २०१० मा १७ जना सर्वसाधारणलाई कुटपिट गरेको आरोप पनि लागेको थियो ।
२०६२ जेठदेखि ६ वर्ष तपस्या गरेको भनिएका बारा रतनपुरीका रामबहादुर बम्जनले लिटिल बुद्ध पनि भन्ने गरिन्छ । उनले तपस्या पश्चात आफुले सृष्टिको सम्पुर्ण रहस्य बुझेको स्वघोषणा गरे । र अन्य सबै धर्मका भगवान भन्दा आफु माथी भएको घोषणा समेत गरे । अहिले उनको आफ्नै धर्म छ मैत्री धर्म । अहिले मैत्री धर्मको प्रचार गर्ने बम्जन आफ्नो एक मात्र उद्देश्य एक मैत्री भाषा, एक मैत्री धर्म, एक मैत्री संस्कृति र मैत्री लिपी बनाउने हो भन्दै प्रवचन दिन्छन ।

उनको एक आसिर्वादले मानिसलाई निकै पुन्य हुने उनको दावी रहँदै आएको छ । उनको प्रवचन सुन्न र उनको आशिर्वाद लिन उनका अनुयायीहरुको ठूलो घुँइचो नै लाग्ने गरेको छ । उनको धर्म अन्य धर्म भन्दा फरक र ठूलो भएको दावी गरिए पनि बौद्ध धर्मसंग निकै मेल खान्छ । उनले पनि बौद्ध धर्मले जस्तै काम, क्रोध, लोभ, मोहबाट टाढा रहन प्रवचन दिन्छन । तर आफूलाई बुद्धभन्दा पनि महान दावी गर्ने बम्जन काम, क्रोध, लोभ, मोहबाट भने अछुतो छैनन् भन्ने सत्य बेला–बेलामा उजागर भइरहेकै छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV