१३ पुष २०७५, शुक्रबार

लमजुङ । प्रकृतिले मात्र होईन, संस्कृतिले पनि उत्तिकै धनी छ, लमजुङको घलेगाउँ । आत्मिय अतिथि सत्कार, मनमोहक प्राकृति, मौलिक संस्कृति र स्थानीय परिकारको स्वाद एकै ठाउँमा पाइने भएकाले पनि यहाँ पर्यटकको चाप वर्षभरी नै उस्तै रहन्छ । घलेगाउँको मूल विशेषता चाहीं ‘होमस्टे’ हो ।

आँखै अगाडि मुस्कुराएका दर्जनौं हिमाल । शितल हावापानी । नजिकै घना जंगल । प्रकृतिले सिंगार्नुसम्म सिगाँरेको छ, घलेगाउँलाई ।

गोर्खा आर्मी पार्क, घले राजाको शालिक, क्वोईवो धी, उत्तरकन्या मन्दिर, सात कुवा, परम्परागत गुरुङ घर, गुरुङ सङ्ग्रहालय, चिया बगान, वनझाङ्ग्रो छहारा, भीर मौरी, भेंडीगोठ पनि घलेगाउँका आकर्षण हुन् । त्यसैले त यो गाउँ पर्यटकको आकर्षक गन्तब्य बनिरहेको छ । दैनिक २ सयदेखि २ सय ५० पर्यटक यहाँ पुग्छन् ।

समुद्री सतहदेखि झण्डै २ हजार १ सय मिटरको उचाईमा रहेको यो गाउँमा घले, गुरुङ र विश्वकर्मालगायत जातिको १ सय २० घरधुरी छ । र, प्रायः सबैको पछिल्लो समय आम्दानीको मुख्य आधार बनेको छ, ‘होमस्टे’ । गाउँमा ३४ घरले ‘होमस्टे’ सञ्चालन गरेका छन् ।

प्राकृतिक सौन्दर्य, स्थानीय मौलिक संस्कृति र उत्कृष्ठ आतिथि सत्कार घलेगाउँको विशेषता हो । घाटु, कृष्ण चरित्र, घ्याब्रे, पच्यू, शोक नाचलगायतका परम्परागत संस्कृति, स्थानीय परिकार र प्राकृतिक दृश्यमा टहलिन पाउँदा पर्यटक दंग पर्छन् ।

सार्क राष्ट्रकै नमूना गाउँको रुपमा परिचित घलेगाउँलाई अहिले नेपालकै पहिलो स्मार्ट भिलेजको रुपमा अघि बढाईएको छ । सदरमुकाम बेसीशहरदेखि २ घण्टाको सवारी यात्रामा घलेगाउँ पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV