१३ पुष २०७५, शुक्रबार
  • अमर काफ्ले,

इनरुवा, सुनसरी, १३ पुष । मुलुकभरका विभिन्न भेगमा रहेका पर्यटकीय गन्तब्य स्थललाई सूचीकृत गरी प्रर्वद्धनमा सरकारले प्याकेजको तयारी गरिरहँदा पूर्वकै ठूलो जलाशय बर्जु ताललाई भने ओझेलमा पारिएको छ ।

पौराणिक ग्रन्थ महाभारतका ५ पाण्डवसँग प्रसंग जोडिने ताल सरकारी उपेक्षामा परेपछि स्थानीय तह आफैं संरक्षणमा जुटेको छ ।
इच्छा शक्ति भए अरुको मुख ताक्नु पर्दैन भन्ने उदाहरण बनेको बर्जु ताल गाउँपालिकाको पहलमा सिंगारिएको मात्रै छैन् । सरकारी उपेक्षाका बाबजुद पूर्वको आर्कषक गन्तब्य बन्ने तर्फ उद्यत देखिएको छ ।

सुनसरीको दक्षिणवर्ती बर्जु गाउँपालिकामा पर्छ बर्जु ताल । १ सय ५० बिगाह क्षेत्रफलमा फैलिएको यस तालको करिव सय बिगाह क्षेत्रमा जलाशय छ । हिंउदमा साइबेरियाबाट जाडो छल्न आउने चरा कोशी टप्पु हुँदै बर्जु ताल पुग्ने गर्छन् । यहाँ विभिन्न प्रजातिका पुतली समेत पाइन्छन् ।

सरकारी सूचीमा मुलुकभरका एक सय गन्तब्य छनौटमा परे । प्रदेश एकका १६ पर्यटकीय क्षेत्र नयाँ गन्तब्यमा समावेश हुँदा पर्यटनको प्रचुर सम्भाव्यता बोकेको बर्जु ताल भने अटाएन् ।ब्यवस्थापन समितिमा रहेको किचलो र राजनीतिक द्धन्द्धको चेपुवाका कारण लगभग अस्तित्वनै संकटमा पुगेको तालले यतिबेला भने पुर्नजीवन पाएको छ ।

जलाशय सुकेर चरन क्षेत्र बनिसकेको ताललाई २०७३ सालमा ३ करोड ६३ लाखको लागतमा नेपाली सेनाले सरसफाई र मर्मत गरेको थियो । सोही पहलले यतिबेला तालको गुम्दो सौन्दर्यलाई पहिलाकै अवस्थामा फर्काउन मद्यत पुर्याएको छ ।जसलाई थप सिंगारने काम यतिबेला बर्जु गाउँपालिकाको कार्यालयले गरिरहेको छ ।

गाउँपालिकाको कार्यालयले तालको संरक्षण सहित पर्यटन, प्रवद्र्धनको उद्देश्यलाई साकार बनाउन रणनैतिक योजनानै पास गरेको छ । करिव ४० लाख रकम खर्चेर ताल क्षेत्रमा यतिवेला विभिन्न संरचना निर्माण थालिएको बर्जु गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले जानकारी दिनुभयो ।

धार्मिक ग्रन्थ महाभारतसंग पनि तालको प्रसंग जोडिएको छ । प्राचीन बिराट राजाको दरबार, गौशाला, गौचरन क्षेत्रसंगै वनवास गएका पाण्डवले यही बर्जु तालको पानी पिएको किम्बदन्ती पाइन्छ ।ताललाई दुई भागमा विभाजन गरेर नौका विहारका लागि डुंगा राखिएका छन् । तालको बीचभागमा मन्दिर समेत निर्माण गरिएको छ ।

पिकनिक खाने र मनोरम वातावरणमा घुम्न रुचाउने आन्तरिक पर्यटकका लागि बर्जु ताल क्रमशः आर्कषक गन्तब्य बन्दै गएको छ ।
सरकारले प्राथमिकतामा नराख्दा पूर्वकै ठूलो जलाशय गुमनाम भएको महसुस गरेको गाउँपालिकाले आफ्नै पहलमा तालको संरक्षण र प्रर्वद्धनको जिम्मेबारी बहन गरिरहेको छ । जसलाई कुनै हालतमा पनि नमूना बनाई छाड्ने अठोट लिइएको छ ।

बर्जु आफैंमा सीमसार क्षेत्र हो । विभिन्न प्रजातिका पुतली र चराका कारण समेत ताल आन्तरिक सहित वाह्य पर्यटनकालागि आर्कषणको केन्द्र बन्न सक्दछ । चिल्ड्रेन पार्क सहितको थप नयाँ संरचना सहितको बन्दोवस्तीले समेत बर्जुतालको सौन्दर्यतालाई बढाएको छ ।

स्थानीय तहको पहलमा भैरहेको गुमनाम तालको पहिचान सहितको पर्यटन प्रवद्धनको प्रयास प्रशंसनीय छ । यसतर्फ संघीय र प्रदेश सरकारको समेत ध्यान जानसके बर्जु ताल प्रदेश एककै लागि नमूना र आकर्षक गन्तब्य बन्ने पक्का छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV