१३ पुष २०७५, शुक्रबार

बिर्तामोड । झापाको मेचीनगर–६ स्थित एक वस्तीमा भीषण आगलागी हुँदा २२ घर जलेर खरानी भएका छन् ।

‘साठी बिघा’ नामक वस्ती (पुरानो भन्सार क्षेत्र) मा गएराति फैलिएकाे आगाेले करिब २२ घर तथा टहरा जलेर नष्ट भएका हुन् । राति करिब ८ बजेबाट आगलागी सुरु भएकोमा केही घण्टाभित्रै दमकलकाे सहायताबाट आगाे नियन्त्रणमा लिइएकाे थियाे ।

नवटा बारुणयन्त्रको सहायताले करिब एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइएकाे थियाे । स्थानीय छविलाल आङदाम्बेको घरबाट आगाे सल्किएकाे काँकडभिट्टा प्रहरीले जनाएकाे छ । लाेडसेडिङ भएपछि उनले मैनबत्ती बालेर राख्दा ग्यास सिलिण्डरको पाइप सल्किन पुगेकाे र साेही ग्यासबाट आगलागी सुरु भएकाे प्रहरीले भनाइ छ ।

प्रहरीका अनुसार आगलागीबाट ६ वटा घर र १६ वटा टहरामा क्षति पुगेकाे र करिब डेढ करोडभन्दा बढीको नाेक्सानी भएकाे छ । घरका साथै  होटल, कपडा पसल, दूध डेरी र किराना पसल पनि जलेर खरानी भएका छन् । आगाे सल्किएकाे आङदाम्बेको घर र आसपासका घर तथा टहरा चित्रा र फुसले बनाइएका थिए, साेही कारण आगाे छिटाे फैलिएकाे र बढी क्षति पुगेकाे जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV