१२ पुष २०७५, बिहीबार

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश चालेन्द्र समशेर राणाविरुद्ध संसदीय सुनुवाई विशेष समितिमा ९ वटा उजुरी परेको छ । उजुरीमा राजनीतिक, मनोवैज्ञानिक, चारित्रिक, आर्थिक र संवैधानिक प्रश्न उठाइएको छ । राणाले फैसला गरेका मुद्दा विवादित रहेको दावी पनि उजुरीमा छ ।

राणाविरुद्ध परेका उजुरी खोल्दै संसदीय सुनुवाई विशेष समितिले अध्ययनका लागि सदस्यहरुलाई वितरण गरेको छ । समितिले जबराविरुद्ध पुस २ गतेदेखि सार्वजनिक उजुरी आह्वान गरेको थियो । १० दिनमा उनीविरुद्ध ९ वटा उजुरी परेको हो । शुक्रवार दिउँसो ३ बजे उजुरीकर्तालाई छलफलमा बोलाएको समितिले त्यसपछि मात्रै राणाको सुनुवाईको मिति तय गर्ने छ ।

राणाविरुद्ध परेको उजुरीः

– पारिवारिक पृष्ठभूमि, मानसिक दशा, न्यायिक चरित्र अभाव र धनप्रतिको अति आकर्षणका कारण स्वच्छ र निश्पक्ष न्याय सम्पादन गर्न नसक्ने ।

– पूर्वराजा ज्ञानेन्द्रकी शाहकी छोरी प्रेरणाा सिंहको दाइजोसम्बन्धी मुद्दा छिन्दा ‘कैफियत’ देखिएको ।

– सुशीला कार्कीविरुद्ध संसदले महाभियोग लगाएपछि परेको मुद्दामा आफूलाई संविधानभन्दा माथि ठानेर अन्तरिम आदेश जारी गरेको ।

– वीरगन्जको छपकैया पोखरीसम्बन्धि मुद्दामा सार्वजनिक जग्गा नाता पर्ने प्रमोद शाहको कायम हुने गरी फैसला गरेको ।

– सर्वोच्च अदालतमा विचाराधीन क्यासिनोसँग सम्बन्धित मुद्दाहरूमा प्रत्यक्ष÷अप्रत्यक्ष संलग्नता देखिएको ।

– मुद्दा ‘सेटिङ’मा अकुत सम्पत्ति थुपारेको, मुस्ताङ्गी राजा जिग्मे परवल विष्टको ठमेलको अर्बाैं मूल्य पर्ने जग्गा कौडीको मूल्यमा खरिद गरेको ।

– वरिष्ठ न्यायाधीश भएपनि तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीले संवैधानिक इजलासमा नराख्नुको कारण खोज्नुपर्ने ।

– फैसला विवादास्पद रहेको, भ्रष्टलाई सफाई दिएको, जुवालाई बौद्धिक खेल भनेर ब्याख्या गरेको ।

पुस १७ गतेबाट प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अवकाश पाउने भएपछि संवैधानिक परिषदले मंसिर २७ गते जबरालाई प्रधानन्यायाधीश सिफारिस गर्दै सुनुवाईका लागि संसदीय समितिमा पठाएको थियो । सर्वोच्चको न्यायाधीश नियुक्त हुनेक्रममा २०७१ सालमा भएको संसदीय सुनुवाईमा तत्कालिन एमाले, माओवादी केन्द्र र संयुक्तका सांसदले विपक्षमा मतदान गरेका थिए । सत्तारुढ दलको बहुमत रहेको समितिले अस्वीकार गर्न सक्ने भएपनि बैकल्पिक उम्मेद्वार नभएका कारण ‘बाध्यताको उपज’मा राणा प्रधानन्यायाधीश हुने निश्चित नै छ । संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले राणालाई प्रधानन्यायाधीश नियुक्त गर्ने छिन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV