१२ पुष २०७५, बिहीबार

काठमाडौं, १२ पुष । मनाङ मस्र्याङदी क्लवले आठौं पटक ए डिभिजन लिगको उपाधि उचालेको छ । संकटालाई तीन एक गोलको अन्तरले हराएपछि मनाङले लिगको दुई खेल खेल्न बाँकी रहँदा नै उपाधि उचाल्ने अवसर पाएको हो ।

लतिलपुरको सातदोबाटो स्थित एन्फा कन्प्लेक्सको मैदानमा भएको खेलको सुरुवात देखि नै दुबै टोली आक्रमकरुपमा पेश भएका थिए । खेलको सातौं मिनेटमा संकटाका इलोनले मनाङको गोल रक्षकलाई छलाइ सकेको अवस्थामा पनि गोल भने गर्न सकेनन् । यस्तै १३ औं मिनेटमा मनाङका कमल श्रेष्ठले गरेको प्रहार गोलपोष्टमा ठोक्किएको थियो । यही नियति १५ औं मिनेटमा पनि दोहोरियो । मनाङका हेमन गुरुङको प्रहार पुनः पोलमा लागेर फर्किएको थियो ।

रेलिगसेन विनाको लिगको ११ खेल सकिदा शीर्ष स्थानको मनाङको हातमा ३३ अंक छ । २५ अंक बटुलेको संकटाले अन्तिम २ खेल जितेपनि अब मनाङलाई भेट्ने अवस्था छैन । पहिलो हाफको इन्जुरी समयमा मनाङका विशाल राईले प्रहार गरेको कर्नर संकटाका गोलरक्षक राजाबाबु थापाले पन्च गर्न खोज्दा आफ्नै पोस्टमा बसेका रोशन पहारीलाई लाग्दै गोल हुन पुगेपछि मनाङले खेलमा अग्रता हात पारेको थियो ।

खेल सकिन ८ मिनेट बाँकी हुँदा पुजन उपरकोटीले मनाङको अग्रता दोब्बर बनाएका थिए । सुजल श्रेष्ठको सट्टा मैदान प्रवेश गरेको उपरकोटी भाग्यमानी सावित हुँदै पहिलो पटक बल पाउँदा नै गोल गर्न सफल भएका थिए । विशालको कर्नरमा उनले हेड मार्फत गोल गरेका थिए ।

८७ औं मिनेटमा विशालकै क्रसमा एडिलाजाको हेड गोलमा मनाङले अग्रतालाई बलियो बनाउँदै ३–० को अवस्थामा पु¥याएको थियो । यसरी मनाङ मस्र्याङ्दीको तीनैवटै गोलमा विशाल राईको विशेष भूमिका रहन पुग्यो ।

८९ औं मिनेटमा संकटाका लागि सेड्रिक आबाले गोल गर्दै गोल अन्तरलाई कम बनाएका थिए । यो जितसंगै मनाङले ५० लाख रुपैयाँ नगद पुरस्कार पनि पक्का गरेको छ ।

ए डिभिजन लिगका उपाधि आठ पटक उचाल्ने मनाङ एक्लो टोली हो । मनाङपछि आरसीटीले ६ पटक तथा थ्री स्टार क्लब र न्यूरोड टिम एनआरटीले समान ४ पटक लिग उपाधि उचालेका छन् ।

मनाङले यस अघि २०४३, २०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० मा ए डिभिजन लिगको उपाधि जितेको थियो । मनाङ मस्र्याङ्दी क्लबलाई लिगमा यति सफल बनाउन दिवंगत खेलाडी मणि शाहको विशेष योगदान छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV