१२ पुष २०७५, बिहीबार

काठमाडाैं । राजावादी केही पार्टीमा जाने हल्ला हुँदाहुँदै तत्कालीन नेकपा एमालेमा प्रवेश गरेकी नेकपाकी नेतृ काेमल ओलीले आमजनताले महसुस गर्ने गरी परिवर्तन आउने बताएकी छन् ।

न्यूज २४ टेलिभिजनसँगकाे अन्तर्वार्तामा उनले नेकपाले पाएको बहुमतको सही सदुपयोग गर्ने प्रयास भइरहेकाे बताइन् । उनले भनिन्, ‘नेकपाले जनताको बहुमतको सही सदुपयोग गर्नेछ,  जनता निराश हुनु पर्ने कुरै छैन । सरकार सफलताको बाटोमा छ, परिणाम आउन मात्रै बाँकी छ ।’

प्रतिनिधि सभाकी सांसदसमेत रहेकी ओलीले जनताले अनुभूत गर्न सक्ने गरी परिवर्तन आउने दाबी गरिन् । उनले भनिन्  ‘परिवर्तनका आमजनताले महसुस गर्ने छन् । कोही-कोहीले पानीजहाज किन नआएको, रेल किन  नआएको भन्दै प्रश्न गर्छन्,  यी सबै आउने क्रममा छन् ।’ वर्तमान सरकारले काम गर्न नसके जनताको कठघरामा उभिने ठाउँ भएको समेत बताइन् ।

राजनीतिमा आउनुभन्दा पहिले नै बेग्लै छवि बनाइसकेकी ओलीले राजनीति देशको मूल नीति बनाउने र देशलाई मार्ग निर्देश गर्ने नीति भएको बताइन् । उनले भनिन्,  ‘राजनीति भनेको सेवा हो,  भावनाले अभिप्रेरित हुनुपर्छ ।  सानैबाट देशको सेवा गर्ने इच्छा भएको हुनाले देशलाई गति दिनको लागि, दिशा निर्देश गर्नको लागि राजनीतिमा  लागेकी हुँ ।’  राजनीति संवेदनशील र चुनौतीपूर्ण कर्म भएको समेत उनले बताइन् ।

राजनीति पेसा नभएको बताउँदै उनले राजनीतिलाई ‘पेसा’ बनाउन नहुने धारणा राखिन् । उनले भनिन्, ‘राजनीति भनेको जो योग्य छ, जसले गर्न सक्छ, उसको योग्यता-क्षमता हेरेर छोटो समयका लागि गर्ने हो, त्यसपछि छाड्ने हो । त्यसैले राजनीतिलाई पेसा बनाउनु हुँदैन । राजनीतिलाई पेसा बनाएर पनि हामी धेरै बिग्रिएका छौँ ।’

बाँकी भिडियाेमा हेर्नुहाेस्-

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV