१२ पुष २०७५, बिहीबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अाधुनिक ११ तले धरहराकाे विधिवत शिलान्यास गरेका छन् । धरहरा परिसरमै अाज आयोजित एक विशेष कार्यक्रममाझ प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको अाैपचारिक शिलान्यास गरेका हुन् ।

२०७२ वैशाखमा अाएकाे विनाशकारी भूकम्पले भत्किएर ठूटाे मात्र रहेकाे ९ तले धराहराकाे ठुटाे संरक्षणका साथै नजिकै आधुनिक प्रविधिद्वारा ११ तले धरहरा निर्माण कार्यकाे अाज अाैपचारिक शिलान्यास गरिएकाे हाे । पुनर्निर्माणमा भएकाे ढिलाइले धरहरा ढलेकाे ३ वर्षपछि आज औपचारिक रुपमा पुनर्निर्माणकाे शिलान्यास भएकाे छ ।

शिलान्यास कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीका साथै नेकपाका अर्का अध्यक्ष प्रचण्ड, उपप्रधान एवं रक्षामन्त्री र्इश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पर्यटनमन्त्री रविन्द्र अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीलगायत उपस्थित थिए ।

धरहरा परिसरलाई कम्पाउण्डिङ गर्ने, भत्किएको धरहरालाई संरक्षण गर्नेलगायतकाे सुरुआत भने केही साताअघि नै भइसकेकाे छ । ओली पहिलाेपटक प्रधानमन्त्री हुँदा २०७२ सालमै ‘मै बनाउँछु मेराे धरहरा’ नारा दिएर रकम संकलन अभियान नै चलाएका थिए ।

पुनर्निर्माण प्राधिकरणले जीआईईटीसी–रमन जेभीलाई धरहरा पुनर्निर्माणको जिम्मा दिएको छ । कम्पनीले तीन अर्ब ४५ करोड रुपैयाँमा धरहरा निर्माणको जिम्मा पाएको हो ।

नयाँ बन्ने धराहरा र कम्पाउन्ड २९ रोपनी क्षेत्रफलमा फैलिने बताइएकाे छ । धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैँचा, रेष्टुराँ, पार्किङलगायतका सुविधाहरु रहनेछन् । नयाँ बन्ने धरहरा ११ तलाको हुने जनाइएकाे छ । धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी आधुनिक लिफ्ट हुनेछ ।

यद्यपि नयाँ धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिने भए पनि धरहराको भित्री संरचना भने २२ तलाको हुनेछ । यसअघि विसं १९९० सालको भुइँचालोले भत्काउनुअघि धरहरा ११ तलाकै थियो, त्यतिबेला पुनर्निर्माणका क्रममा ९ तला मात्र बनाइयाे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV