११ पुष २०७५, बुधबार

प्रतिपक्षीको विरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको चर्को आलोचना गरेका छन् । बुधबारदेखि सुरु भएको संसदलाई सम्बोधन गर्दै देउवाले देशमा सरकार भएको अनुभूत नै गर्न नसकेको बताए ।

संघीयता कार्यान्वयनमा गम्भीर नभएको आरोप लगाउँदै उनले सरकारको नियतमाथि नै शंका गरे । प्रतिपक्षी दललाई अपेक्षा गर्दै सरकार तानाशाही शैलीमा अघि बढेको देउवाको बुझाई छ । उनले आफू प्रधानमन्त्री हुँदा ल्याएको सामाजिक सुरक्षा कार्यक्रमको जश केपी ओली सरकारले लिन खोजेको भन्दै आक्रोश व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले पनि सरकारको कार्यशैलीमाथि कटु टिप्पणी गरे । सरकारले आफ्नो शक्ति नबुझेर जनताको नजरमा गिर्ने खालको काम गरेको उनको आरोप छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार एवम् हत्यामा संलग्नको पहिचान गर्नसम्म असफल भएको भन्दै सरकारप्रति आपत्ति व्यक्त गरे । निर्मला हत्या प्रकरणमा सरकार नै प्रमाण नष्ट गर्न लागि परेको उनको ठम्याई छ ।

संविधान संशोधन गरेर उत्पीडित नागरिकलाई अधिकारसम्पन्न बनाउन जोड दिँदै उनले वाइडबढी विमान खरिद् प्रकरणमा सरकारले गम्भीर गल्ती गरेको आरोप लगाए । समग्रमा भट्टराईले सरकारको विश्वसनीयतामाथि शंका गरे ।

सत्तापक्षको प्रतिरक्षा प्रयास

सत्ताघटक दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई बचाउँ गर्ने गरी तर्क गरेका छन् । हिउँदे अधिवेशनको पहिलो दिन संसदलाई सम्बोधन गर्दै दाहालले सरकार सकारात्मक प्रयासका लागि निरन्तर सक्रिय भएको दाबी गरे । मूलतः्र संविधान कार्यान्वयनको पाटोमा सरकारले महत्वपूर्ण काम गरेको अध्यक्ष दाहालको तर्क छ ।

संसदलाई सम्बोधन गर्दै दाहालले विगतमा सत्तापक्ष र प्रतिपक्षी दलले धेरै अप्ठ्यारालाई चिर्दै अघि बढेको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्यको खाँचो रहेकोमा जोड दिए । दलहरुको एकताबिना प्राप्त राजनीतिक उपलब्धी नै जोखिममा पर्ने तर्क गर्दै उनले प्रतिपक्षीलाई रचनात्मक भूमिका निर्बाह गर्न आग्रह गरे ।

सँगै अध्यक्ष दाहालले मुलुक समृद्धिको दिशामा अघि बढेको तथ्य पेस गरे । सरकारको विरोध मात्रै गरेर प्रतिपक्षी दलले जनतामा भय सिर्जना गरेको उनको बुझाई थियो । समाजमा महिला हिंसाको ग्राफ घटेको भन्दै उनले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाएर कारबाही गर्न सरकारले प्रयास गरिरहेको बताए ।

सरकारलाई समर्थन गरेको राष्ट्रिय जनता पार्टी (राजपा)का नेता राजेन्द्र महतोले भने प्रतिपक्षी दलको नेताले जसरी धारणा राखे । आफूहरुसँग भएको सहमति अनुसार अघि नबढेको भन्दै आक्रोशित महतोले सरकारका कामकारबाहीको चर्को आलोचना गरे ।

राजपा नेता महतोले थारु नेता रेशम चौधरीलाई सरकारले जेल हालेकोप्रति रोश प्रकट गरे । सरकारले मधेसी र थारुलाई हेपेकै कारण चौधरीलाई जेल हालेको उनको बुझाई थियो ।

महतोले सरकार नै संघीयता विरोधी भएको आरोप समेत लगाए । अधिकार जति केन्द्रमा राखेर ल्याइएको संघीय व्यवस्थाले नागरिकलाई अधिकार सम्पन्न बनाउन नसक्ने महतोको तर्क छ ।

यसरी सरकारलाई समर्थन गरेको दलका नेताले नै सरकारको विरोध गरिहँदा नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलका नेता तथा सांसद खुसी देखिन्थे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV