११ पुष २०७५, बुधबार

काठमाडौं । स्वास्थ्य उपचारमा सबै नागरिकको पहुँच सुनिश्चित गर्न भन्दै सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमको नतिजा सन्तोषजनक छैन । तीन वर्षअघि सुरु गरिएको कार्यक्रममा हालसम्म ३६ जिल्लाका १४ लाख २३ हजार ६ सय ७२ जना समेटिएका छन् । तर, राम्रो सेवा नपाएपछि बीमा नबिकरण नगर्ने बढ्दै गएका छन् ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले २०७२ चैत २५ देखि कैलालीबाट सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले ३६ जिल्लामा सञ्चालित छ । बीमा बापत हालसम्म १ अर्ब २२ करोड ३७ लाख ३८ हजार ४ रुपैयाँ संकलन गरेको सरकारले बीमितलाई सेवा दिएबापत विभिन्न स्वास्थ्य संस्थालाई १ अर्ब ४९ करोड ७६ लाख ७७ हजार ३ सय ८२ रुपयाँ भुक्तानी दिएको छ । स्वास्थ्य बीमा कार्यक्रम लागू गर्दा उत्साहित भएका सर्बसाधारण अपेक्षाअनुसार सेवा नपाएको गुनासो गर्न थालेका छन् ।

स्वास्थ्य बीमा लागू भएका जिल्लाका स्थानीय तहले स्वास्थ्य संस्थाको व्यबस्थापनमा ध्यान नदिँदा बीमा कार्यक्रम नै अलपत्र पर्दै गएको छ । दुर्गम क्षेत्रमा चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा बीमित ऋण खोजेर केन्द्रका अस्पताल धाउन बाध्य छन् । कार्यक्रम लागू पूर्व प्राबिधिक समस्यामा ध्यानमा नराख्दा गुनासो बढेको स्वास्थ्य बीमा बोर्ड पनि स्वीकार्छ ।

सुरुवात भएको ३ बर्षमा ३६ जिल्लाका ११ दशमलब ८ प्रतिशत जनसंख्या मात्रै समेटिनु र ८ प्रतिशतले मात्रै बीमा नबिकरण गर्नुले यसप्रति सर्बसाधारण उत्साह घटेको प्रष्ट हुन्छ । हालसम्मको नतिजा र अनुभव तथा झन्झटिलो प्रक्रियाका कारण तीन वर्षमा सबै नागरिकलाई बीमा कार्यक्रममा समेट्ने सरकारको योजनामा धक्का लाग्ने देखिएको छ । बिपन्न परिवारको ‘प्रिमियम’ सरकारले नै तिरिदिँदा पनि हालसम्म ३ लाख ११ हजार परिवार मात्रै बीमा कार्यक्रममा समेटिएका छन् । उपचार गर्न ऋण खोजेरै भौतारिनु पर्ने र उपचारै नपाएर ज्यान गुमाउनु पर्नेको संख्या बढिरहँदा स्वास्थ्य बीमा कार्यक्रममा नागरिक नै उत्साहित नहुनुका कारण खोज्नुपर्ने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV