११ पुष २०७५, बुधबार

काठमाडौं । सरकारले निजामती कर्मचारी समायोजनका लागि देशभर १ लाख ३८ हजार १ सय ७८ दरबन्दी कायम गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार संघ, प्रदेश र स्थानीय तहमा काम गर्ने कर्मचारीको संख्या यकिन गरिएको आज पत्रकार सम्मेलन गरी जनाएको हो । जसअनुसार संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ दरबन्दी कायम गरिएको छ ।

अब कर्मचारीले आफ्नो विवरण दर्ता गरेर समायोजन हुन चाहेको तह रोज्न पाउने छन् । तर, समायोजनको आधार जेष्ठतालाई मानिएकाले उनीहरुले रोजेर बाँकी रहेका ठाउँमा मात्र अन्य कर्मचारीको पदस्थापन हुनेछ । कर्मचारीले समायोजन फारम अनलाइनमार्फत् भर्न सक्ने छन् ।

कर्मचारीले भने समायोजन अध्यादेशमा वृत्ति–विकासमा बाधा पुग्ने प्रावधान रहेको भन्दै सच्याउन माग गर्दै आएका छन् । तर, सरकारले प्रदेश र स्थानीय तहमा गएका कर्मचारीले पनि मुख्यसचिव बन्न पाउने भएकाले वृत्ति–विकासको बाटो नरोकिएको दावी गरेको छ । कर्मचारीको आन्तरिक बढुवा र अन्तर सेवा प्रतिस्पर्धाको माध्यमबाट प्रदेश र स्थानीय तहमा गएका कर्मचारी संघमा आउन सक्ने सरकारको भनाइ छ ।

समायोजनको प्रक्रियालाई व्यवस्थित बनाउन सबै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय तथा सेवा संचालन गर्ने निकायमा ‘हेल्पडेस्क’ स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV