१० पुष २०७५, मंगलवार
  • रिदम सिंह

बझाङ्ग । बझाङका जनप्रतिनिधिले आफ्नो परिवारले मात्र कुलपूजा गर्ने निजी मन्दिरलाई घुम्नैपर्ने १०० गन्तव्यको सूचीमा स्थापित गरेका छन् ।

प्रतिनिधि सभातर्फ १ न. क्षेत्रबाट निर्वाचित तल्कालीन नेकपा एमालेका सांसद भैरवबहादुर सिंहले आफ्नो परिवारले मात्र पूजा गर्ने निजी मन्दिरलाई सरकारकाे १०० गन्तब्यकाे सूचीमा छनोट गराएका हुन् । साे मन्दिरका लागि ५० लाख बजेट विनियाेजन समेत गराएका छन् ।

सांसद सिंहको गाउँमा नै बसोबास गर्ने स्थानीयलाई समेत थाहा नभएको मन्दिर उत्कृष्ट १०० गन्तव्यमा छनोट भएको छ । ‘यहाँ घर-घरकै मन्दिर छन्, कुन मन्दिरलाई गोरखनाथ भन्छन्, मलाई त थाहा भएन,’ स्थानीय ४२ वर्षीय धनसरी दौल्यालले भनिन् ।

सिंह खलककाे निजी मन्दिर

उत्कृष्ट गन्तब्यमा पारिएको उक्त मन्दिरमा सिंह खलकका ४० परिवारले मात्र पूजा गर्ने गर्दछन् । तिनैमध्येका एक हुन् प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंह । सिंह परिवारको पितृ देवताको मन्दिर भएकोले अक्सर गाउँका अन्य जातिहरुले उक्त मन्दिरमा पुजा गर्न पाउदैनन् ।

परालका कुन्युँले घेरिएका ३ वटा पैयुँका रूख । फेदमा करिब ३ फिट अग्लो गजुर आकारको ढुंगे संरचना, ढोका नभएको । ढुंगैले छेकेर काम चलाइएको अवस्थामा उक्त मन्दिर रहेको छ । रूखका हाँगामा बाँधिएका १० र १२ वटा ध्वजाले यसलाई मन्दिर भएको संकेत गर्छन् । तर चिहाएर हेर्दा मूर्ति देखिँदैन । न पूजाआजा गरिएको छ, न घण्ट झुन्डयाइएको छ ।

सांसद भैरवबहादुर सिंह के लिए इमेज परिणाम
सांसद बैरभ बहादुर सिंह

स्थानीयकै जानकारीमा नरहेकाे यो मन्दिर १०० गन्तब्यमा परेको सुन्दा आफूलाई अचम्म लागेको स्थानीय गणेश दौल्यालको भनाई छ ।

सांसद सिंहले राजनीतिक शक्तिको आडमा आफ्नो मन्दिरलाई गन्तव्य सूचीमा पारेको दुर्गाथली गाउँपालिका ७ का वडा सदस्यसमेत रहेका लोकपाल दौल्यालले बताए । ‘यो सरासर कार्यकर्ता पोस्ने र कमिसन खाने दाउ हो । यही गाउँका सबैले नचिनेको ठाउँ कसरी राष्ट्रिय गन्तव्य हुन सक्छ  ?’ उनले प्रश्न गरे ।

जिल्लाबासी रुष्ट 

‘गोरखनाथ मन्दिर’ सय गन्तव्यमा छानिएको खबरले जिल्लाबासी रुष्ट छन् । पर्यटकीय सम्भावना बोकेका दर्जनौँ सम्पदा जिल्लामा हुँदाहुँदै नामै नसुनेको नीजी मन्दिरलाई गन्तव्यमा पार्नु दुःखद भएको जिल्लाबासीको भनाई छ ।

‘साइपाल हिमाल, सुर्मा सरोवर, कैलाश गुफा, उरैजस्ता धेरै आकर्षक गन्तव्य पूर्वाधार विकास र प्रचार अभावमा त्यसै सडेका छन्,’ पर्यटन पत्रकार महासंघ बझाङका अध्यक्ष रमेश केसीले भने, ‘हाम्रा नेता आफ्ना निजी मन्दिरलाई गन्तव्य बनाउनका लागि परेका छन् । अनि कसरी हुन्छ पर्यटन विकास ?’

उल्लिखितमध्ये एउटै गन्तव्यको पुर्वाधार विकास र प्रचारप्रसार गर्न सके बझाङमा बर्षेनी १ लाखभन्दा बढी पर्यटक भित्र्याउन सकिने सम्भावना अध्ययनले देखाएको केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV