९ पुष २०७५, सोमबार
  •  मनोज श्रीवास्तव

कपिलवस्तु । कपिलवस्तु जिल्लाको शुद्धोधन गाँउपालिकाकी एक बलात्कृत किशोरी र उनका परिवारलाई गाँउपालिकाका अध्यक्षले मिलापत्र गर्न दबाब दिएको खुल्न आएको छ ।

गत पुस ७ गते शनिबार बिहान गाँउपालिकाको वडा नम्बर २ मदारगढकी २१ बर्षीया युवतीलाई सोही स्थानका ३० बर्षीय सोलिन्दर अहिरले जबरजस्ती करणी गरेको युवतीले बताईन् । स्वीटर बनाउने ऊन किनेर फर्किदै गर्दा निज आरोपीले गाँउको दक्षिणको कुखुरा फर्ममा लगि करणी गरेको पीडितको आरोप छ ।

आफनी छोरीलाई अहिरले करणी गरे पछि आफुले प्रहरीमा जाहेरी दिन जाँदा शुद्धोधन गाँउपालिकाका अध्यक्ष निसार अहमद खाँले एक, दुई लाख रुपैयाँ लिएर घटना मिलाउन दबाब दिएको बलात्कार पीडित युवतीको बाबुले न्यूज २४ नेपाल डट टिभीलाई बताए । आफुले छोरीको लागि न्याय खोजेको बताउदै उनले बलात्कारमा संलग्नलाई कानुनी कारवाही हुनु पर्ने अडान राखे ।

यता पीडितको जाहेरीका आधारमा आरोपी सोलिन्दर अहिरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धानका लागि कपिलवस्तु अदालतबाट म्याद थप गरि आरोपी अहिरलाई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रबक्ता प्रहरी नायब उपरीक्षक रबि रावलले जानकारी दिए ।

पीडित परिवारलाई दबाब दिएको बिषयमा गाँउपालिका अध्यक्ष निसार अहमद खाँले भने किशोरी अविवाहित रहेकाले घटनालाई गाँउ ठाँउमै मिलाउन आफुले पहल गरेको स्वीकार गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV