९ पुष २०७५, सोमबार

सिन्धुपाल्चोक । केही सदस्यको बहिष्कारका कारण बाह्रविसे नगर कार्यपालिकाको बैठक प्रभावित भएको छ । सोमबारका लागि डाकिएको बैठकलाई केही सदस्यले विभिन्न बहानामा बहिष्कार गरेपछि बैठक प्रभावित भएको हो ।

संशोधित नगरसभासँगै विभिन्न जनसरोकार एवम् विकास निर्माणबारे छलफल गर्ने प्रस्तावसहित नगरपालिकाले पुस ४ गते नै सबै सदस्यलाई पत्राचार गरेको थियो । सोमबार बिहान नेपाली कांग्रेससम्बद्ध वडाअध्यक्षसँगै केही सदस्यले बैठक बहिष्कार गर्ने जानकारी दिएको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए ।

राजनीतिक कारण सदस्इहरुले नगर कार्यपालिकाको बैठक बहिष्कार गर्दा नागरपालिकाले प्रवाह गर्ने सेवासँगै विकास निर्माणको काम प्रभावित भएको शेर्पाले बताए । सदस्यहरुले बैठक बहिष्कार गरेकोप्रति मेयर शेर्पाले प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन् ।

‘राजनीतिक प्रतिशोधका कारण स्थानीय सरकारलाई असहयोग गर्ने कुरा आपत्तिजनक छ ।’ मेयर शेर्पाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विषयगत विवाद नभएको अवस्थामा सदस्यले बैठक बहिष्कार गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’
बैठकमा काठको पोलमुक्त नगर घोषणा, सार्वजनिक सुनुवाई, डम्पिङ साइट व्यवस्थापनलगायत जनसरोकारका विषयमा छलफल गर्ने एजेण्डा तय भएको थियो ।

सदस्यहरुलाई बैठकको एजेण्डासहित पत्राचार गरिएको मेयर शेर्पाले बताए । सदस्यहरुले निरन्तर बैठक बहिष्कार गरिरहे उपस्थित संङ्ख्याको बहुमतले निर्णय गर्दै काम गर्ने उनले बताए । कसैले राजनीतिक प्रतिशोध साँधेको आधारमा जनसरोकारका काम रोक्न नहुने उनको बुझाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV