५ पुष २०७५, बिहीबार

काठमाडौं । मेलम्चीको काम अन्तिम चरणमा आइपुग्दा इटालियन ठेकेदार कम्पनी सीएमसीसँग अर्काे लफडा परेकाे छ । ठेकेदारले काम ठप्प पारेर भाग्न खाेजेपछि सरकारले कम्पनीका प्रतिनिधिहरुलाई बाेलाएर फकाउने प्रयास गरिरहेकाे छ । लगातार तीन दिनको वार्ता र छलफलबाट कुनै निर्क्याैल भने निस्किएकाे छैन ।

हिजाे बुधबार खानेपानी मन्त्रालयमा ठेकेदार कम्पनीका प्रतिनिधि र मन्त्रालयका पदाधिकारीबीच दिनभरजसाे वार्ता भयाे तर निष्कर्षमा पुग्न सकेन । मुख्यतया रकमकाे विषयलाई ठेकेदार असन्तुष्ट रहेकाे जनाइएकाे छ ।

सरकारले ठेकेदारलाई तिर्नुपर्ने ३६ करोड रुपैयाँ किस्ताबन्दीमा दिने प्रस्ताव गरे पनि ठेकेदारले भने एकमुष्ट पाउनुपर्ने माग गरेकाे छ । उसले नगद प्रवाहमा आफू समस्यामा परेकाे भन्दै एकैपटक साे रकम पाउनुपर्ने अडान राखेपछि वार्ता निष्कर्षविहीन भएको हो । यद्यपि सरकारले कम्पनीलाई फकाउने प्रयास जारी राखेकाे छ, आज पनि मन्त्रालय र ठेकेदार पक्षबीच छलफल हुने जनाइएकाे छ ।

यसअघि रकमकै विषयमा ठेकेदार र सरकारबीच पटकपटक लफडा चलेकाे थियाे । पछि दुवै पक्षका प्रतिनिधि सम्मिलित विवाद निरुपण बोर्ड (डीआरबी) ले विवाद समाधान गरेकाे थियाे । जसअनुसार  ठेकेदारको दाबी रकम १ अर्ब ६१ करोडमध्ये  सरकारले ३६ करोड रुपैयाँ तिर्नुपर्ने फैसला भएको थियो ।

ठेकेदारले रकम अभाव देखाएरै आयाेजनाका कामदारहरुकाे ज्याल एव‌ं तलब समेत दिएकाे छैन । सिएमसीको साइट कार्यालयमा बुधबार आयोजनाका कर्मचारीले तलब नपाएकाे भन्दै धर्ना दिएका छन् । तलब भत्ता लगायतका पारिश्रमिक नदिई ठेकेदार कम्पनी सिएमसी भाग्न खोजेको भन्दै कर्मचारीले धर्ना शुरु गरेका हुन् ।

मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले कर्मचारीका मागका विषयमा छलफल गरी टुङ्गो लगाउने आश्वासन दिए पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको कर्मचारीले गुनासो गरेका छन् । कर्मचारीका मागका विषयमा थप छलफल तथा सहमति नभएसम्म आन्दोलन जारी राख्ने कर्मचारीले बताएका छन् ।

ठेकेदारले डीआरबीकाे निर्णय अनुसार रकम माग गर्दै खानेपानी मन्त्रालय र मेलम्ची आयोजनालाई ताकेता गर्दै आएको थियो । तर खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुर र आयोजना प्रमुख सूर्यप्रकाश कँडेलले विभिन्न बहाना गर्दै रकम भुक्तानी दिन नमानेकाे आराेप ठेकेदारले लगाएकाे छ ।

सरकारबाट एकमुष्ट रकम नआए काम छाेडेर जाने उसले चेतावनी पनि दिँदै आएकाे थियाे । आफ्ना सबै कर्मचारी र कामदारलाई समेत सिन्धुपाल्चोकस्थित मेलम्ची साइटबाट काठमाडौं उतारेको थियो भने कम्पनीका केही मुख्य पदाधिकारी विमानस्थल हुँदै आफ्नाे देश भाग्न खाेजेका थिए । तर उनीहरुकाे पासपाेर्ट सरकारले नियन्त्रणमा लिइसकेकाे छ ।

यद्यपि सीएमसीका पदाधिकारी एवं कर्मचारीहरुले क्रिसमस मनाउन स्वदेश फर्कन लागेकाे बताए पनि प्रहरी लगाएर उनीहरुलाई नियन्त्रणमा लिइएकाे छ । उनीहरुको राहदानी जफत गरी नेपाल छाड्न नपाउने आदेश त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयलाई दिइएकाे छ । यसले दुवै पक्षबीच थप तनाव निम्त्याएकाे छ ।

LIVE TV