५ पुष २०७५, बिहीबार

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा ‘मुख्य अभियुक्त’ भनिएका प्रदीप रावल र विशाल चौधरीको डिएनए रिपोर्ट  नेगेटिभ आएको छ । औपचारीक रुपमा प्रहरीले रिपोर्ट सार्वजनिक गरेको छैन तर उच्च स्रोतको अनुसार दुवैकाे डिएनए रिपोर्ट नेगेटिभ आएको छ  ।

विशाल  र प्रदिपको डिएनए परीक्षण सम्पन्न भइसकेको छ। उनीहरूकाे डिएनए रिपोर्ट प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (नास्ट) ले प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागलाई बुझाएको थियो।

स्रोतका अनुसार प्रहरीको प्रयोगशालाले मंसिर अन्तिम साता नै प्रहरीलाई डीएनए रिपोर्ट बुझाएको  थियाे । नतिजा ‘नेगेटिभ’ आएपछि प्रहरी अधिकारीहरु हच्केका थिए। त्यसपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मातहत रहेको नास्टमा पनि डीएनए परीक्षणका लागि पठाइएको थियो । तर, नास्टमा पनि परीक्षण गरिएको ‘वाइ एसटीआर’ प्रोफाइल नकारात्मक आएको स्राेतकाे भनाइ छ ।

अभियुक्तकाे रूपमा हिरासतमा लिइए पनि उनीहरूमाथि अभियाेग पुष्टि गर्ने कुनै भरपर्दाे आधार भने थिएन । डिएनए प्रहरीको विधि विज्ञान प्रयोगशालामा टेष्ट गरिएकाे र साे रिपाेर्ट साेमबार कञ्चनपुर पठाएकाे थियाे । विभागले दुवैजनाको डिएनए कञ्‍चनपुर पठाएको दाबी गरेको  छ तर कञ्‍चनपुर प्रहरी प्रमुख एसपी कुबेर कठायतले उक्त रिपोर्ट आफूलाई प्राप्त नभएको बताएका छन्। यता  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीले पनि ल्याबले साेमबार नै डिएनए रिर्पोट पठाएको जानकारी दिएका छन् ।

उक्त रिपाेर्ट मंगलबार कञ्चनपुर पुग्ने र बुधबार खाेलीने भनिएकाे थियाे  । स्रोतका अनुसार रिपोर्ट जिल्लामा आइसकेको छ तर अझै २/४ दिन नखाेलीने भएकाे छ ।

उच्च स्राेतका अनुसार प्रदीप रावल र विशालकाे डिएनए रिपोर्ट  नेगेटिभ आएपछि  प्रदीपलाई नै दोषी ठहर गर्नको लागि अन्य प्रमाण खोज्दै छ ।  प्रदीपले दिएकाे बयान मिल्दाे देखिएपछि थप केहि प्रमाण भेटिन्छ की भनेर खाेजी भइहरकाे छ । प्रहरीले प्रदिपबारे थप  कोही देख्ने वा सुन्ने छ कि भनेर खोजी गरिरहेको स्राेतकाे भनाइ छ । स्राेतका अनुसार  डिएन नमिले पनि अरु प्रमाण पाए प्रदीपलाई नै दोषी ठहर गर्ने साेचमा प्रहरी छ।

यसअघि मुख्य अभियुक्त भनिएका कञ्चनपुरकै मानसिक राेगी दीलिपसिंह विष्टकाे पनि डिएनए मिलेकाे थिएन । त्यसैगरी जनस्तरबाट शंका गरिएका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्ली विष्ट र उनका छाेराकाे समेत गरी हालसम्म २४ जनाको डिएनए परीक्षण गरिसकेको छ, तर कुनैकाे पनि डिएनए म्याच भएकाे छैन ।

निर्मला हत्याकाे अनुसन्धान गरिरहेकाे केन्द्रीय अनुसन्धान ब्युरोले प्रदीपलाई मंसिर २० र विशाललाई मंसिर २१ मा नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । रावलले हत्या गरेकाे स्वीकारेकाे प्रारम्भिक बयानमा बताएकाे भन्दै प्रहरीले सार्वजनिक गरेकाे थियाे । तर पछि उनीहरू निर्मला हत्या भएकाे दिन कुखुरा चाेरेकाे आराेपमा प्रहरी हिरासतमै रहेकाे कुरा बाहिर आएको थियाे ।

सम्बन्धित समाचार- 

अभियुक्त भनिएका प्रदीप र विशालकाे डिएनए रिपोर्ट कञ्चनपुर पठाइयाे, दुवै रिपाेर्ट नेगेटिभ

 

निर्मला हत्या प्रकरण : लापरबाही गर्ने ३ दर्जन प्रहरीलार्इ कारबाही गर्न सिफारिस

 

निर्मला हत्या प्रकरण : अपराध स्वीकार गरे भनिएका २ अभियुक्त घटना हुँदा कुखुरा चोरेर थुनामा !

 

निर्मला हत्या प्रकरणः ‘अब डिएनए जाँच प्रहरीले नै गर्दा आम सर्वसाधारणलाई विश्वास लाग्ला त ?’

 

निर्मलाकी आमाद्वारा आठ प्रहरीविरुद्ध उजुरी, को-को हुन् ती आठ प्रहरी ?

 

LIVE TV