५ पुष २०७५, बिहीबार

वि.सं.२०७५ साल पौष ०५ गते । बिहीबार । इस्वी सन् २०१८ डिसेम्बर २० तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग शुक्ल पक्ष । तिथि त्रयोदशी,५० घडी ३० पला । नक्षत्र कृतिका,४८ घडी २५ पला,रातको ०२ बजेर १३ मिनेट उप्रान्त रोहिणी । योग सिद्ध,३० घडि ०७ पला,बेलुकी ०६ बजेर ५४ मिनेट उप्रान्त साध्य । करण कौलव,दिउँसो ०३ बजेर ३१ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा लुम्ब योग । चन्द्रराशि मेष,बिहान ०८ बजेर २४ मिनेट उप्रान्त बृष । काठमाडौँमा सूर्योदय ०६ बजेर ५१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ११ मिनेट । दिनमान २५ घडी ५० पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समय बित्नेछ । गीत सङ्गीत तथा मोडलिङमा विशेष चासो बढ्नेछ । पढाई लेखाइमा मन जाने हुनाले सफलता हात लाग्नेछ । व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ भने आर्थिक क्षेत्र मजबुत रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले पद प्राप्तिको योग बन्नेछ । प्रणय सम्बन्धमा सुधार भएर जानेछ भने पति पत्नीबिच मायाको डोरो कसिलो भएर जानेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पतिपत्नीबिचको मधुर प्रेमाभावले दाम्पत्य जीवन सुखद हुनेछ । इष्टमित्र सहयोगी बन्नेछन् । बोलीमा मधुरता झल्कनेछ भने भाग्य शक्ति सुदृढ रहनेछ । धार्मिक चाहनाले थुप्रै तिर्थाटनको अवसर जुर्नेछ । पापीय मनोवृत्ति बिस्तारै हट्दै जानाले मन प्रफुल्लित बन्नेछ । नोकरीमा ख्याति बढ्ने कार्यको सर्वत्र प्रशंसा होला । राजनीतिले समाजमा सुयोग्य र कर्मठ बनाउला । व्यापार व्यवसायले आर्थिक सङ्कट निवारण गर्नेछ । बिहानको समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यवसायबाट आम्दानी गर्न लगानी बढाउनु पर्ला । खर्च बढ्ने तथा कामहरू नहुने प्रशस्त सम्भावना रहेको छ । आर्थिक स्थिति खस्केर जाने हुनाले घरायसी खर्च व्यवस्थापन गर्न हम्मे हम्मे पर्नेछ । पढाई लेखाइमा समय दिन नसक्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई खर्च हुने योग रहे पनि लामो दुरीको यात्रा हुने विदेशी सामानको व्यापार व्यावसायिक फस्टाएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समय मध्ययम रहेकोले व्यापारमा लगानी गर्नको लागि केही समय पर्खनु नै राम्रो हुनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग नहुने हुनाले काम गर्न नसकेजस्तो हुनेछ । शत्रु,मुद्दा मामिला तथा अन्य झन्झटबाट मुक्ति मिल्ने समय नरहेकोले ख्याल गर्नुहोला । माया प्रेममा मनमुटाब बढ्न सक्छ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू प्रयोग गर्दा ध्यान दिनुहोला । पढाई लेखाई तपाईँ आफ्नै कमजोरीले बिग्रनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्य कमजोर रहने र पारिवारिक स्वास्थ्यमा धन खर्च हुनेछ । जग्गा तथा सवारी साधन सम्बन्धी झमेलामा फस्ने ग्रहयोग रहेकोले ख्याल गरेर काम गर्नुहोला । राजनीति तथा समाजसेवामा जतनको काम गर्दा गर्दै आलोचनाको सिकार होईनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा नचाहँदा नचाहँदै छुट्टिनु पर्ने बाध्यता आउनेछ । पढाई लेखाइमा भने विद्यार्थी वर्गहरूले अलि बढी ध्यान दिए सफलता हात पार्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बौद्धिकताको प्रयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ भने उत्तम वस्त्र,मन पर्ने तथा विलासी बस्तु हात लागि हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा संस्कार संस्कृतिको जगेर्ना गर्ने काममा समय व्यातित हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेमलाई विवाहरुपी निकास दिने सहमति जुट्ने योग रहेको छ । बिहानको समय मध्ययम रहेकोले दिदीबहिनी सँग मनमुटाब बढ्ने योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा दिदी बहिनी सँग साना कुरामा राय बाझिनेछ भने घमण्ड गर्ने बानिले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरू हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलीमा रूखोपना बढी आउने हुँदा आफन्त तथा साथीभाइहरू टाढिनेछन् । भौतिक सम्पत्ति प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । नसोचेको धन तथा सम्पत्ति प्रयोग गर्न पाइने हुँदा मन प्रसन्न रहनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) माया प्रेममा एक अर्कालाई शङ्काको दृष्टिले हेदा मनमुटाब सिर्जना हुनेछ भने दाम्पत्य जीवनमा चिसोपनाको विकास हुन सक्छ ध्यान दिनुहोला । यात्रामा सोचेजस्तो सफलता पाउन कठिन रहेको छ । व्पापारमा समय दिन नसक्दा वा ध्यान नदिँदा घाटा लाग्न सक्छ । साझेदारी व्यवसाय सकभर आजको दिन सुरु नगर्नु होला । विलासी बस्तुको प्रयोग गर्न पाइने भए पनि बढिनै उत्साहित हुँदा नकारात्मक परिणाम देखा पर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) स्वास्थ्यमा समस्या देखिने हुनाले दौडधुपमा समय खर्च नगर्नु नै राम्रो रहेको छ । काममा ढिला सुस्ती, बैरभाव तथा आफन्त सँग विवाद हुने योग रहेको छ । कार्यक्षेत्रमा कामको भार बढ्नेछ भने पदोन्नति तथा नयाँ काम पाउने योग केही दिनको लागि टरेर जानेछ । खुट्टा तान्ने तथा काममा विवाद सृजन गर्नेहरू सक्रिय रहनेछन् । पढाई लेखाई अधुरै रहनेछ भने न्यायिक निर्णयहरू तपाईँको विपक्षमा फैसला हुनेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यवसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ हुनेछ । सन्तानको प्रगति देखेर मन रमाउनेछ भने वंश वृद्धिको गतिलो सम्भावना रहेको छ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरू खुसी हुनेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ । आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ । नयाँ योजनाहरू बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचेजस्तो आम्दानी गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थ्य सम्बन्धी समस्या आई काम गर्न बाधा हुनेछ ध्यान दिनुहोला । आमा, आफन्त तथा साथीभाइबाट टाढिएर लामो दुरीको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनीतिमा आलोचना गर्नेहरू सक्रिय भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समारोहमा भाग लिने अवसर आए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । कृषि क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दाजुभाइ तथा बन्धुबान्धब सँग सामान्य मनमुटाब सिर्जना हुने तथा विवाद बढ्नेछ । व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुनाले आर्थिक अवस्था कमजोर हुनेछ । पराक्रम तथा आँट गर्न नसक्दा विभिन्न अवसरहरू गुम्नेछन् । पढाई लेखाइमा अरूभन्दा कमजोर भइने हुनाले नतिजा अरूकै पोल्टोमा पर्नेछ । प्रेममा नजिक हुने समय नरहेकोले भेटघाट भन्दा पनि प्रविधिको प्रयोग गरी कुराहरू गर्नु राम्रो हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

ज्योतिषी गणेश काफ्ले

LIVE TV