४ पुष २०७५, बुधबार
  • अमर काफ्ले इनरुवा,

सुनसरी । सरकारी स्तरको गोष्ठी, कार्यशाला होस वा संघसंस्था मार्फत गरिने कार्यक्रम । सहभागिकालागि भत्ता र हेबी नास्ता अनिवार्य झैं बनिसकेको छ । भत्ताविना कार्यक्रममा सहभागी संख्याको कोटा पु¥याउनै मुस्किल हुने गर्छ । कति भत्ता छ र नास्ता कुन क्याटेगोरीको भन्ने विषयमा चित्तबुझ्दो जवाफ नपाए आयोजक र सीमित सरोकारवाला बाहेकको उपस्थित भेट्न मुस्किल छ ।

समाजसेवा गर्ने वहानामा समेत आर्थिक पाटोनै हावी बन्ने गरेको तथ्य समेत प्रशस्त भेट्न थालिएका छन् । समयानुकुल समायोजनको मुद्दा यतिवेला कर्मचारीमाझ समेत चर्केको छ । सेवा सुविधा अपुग भएको र आफु पायक नभएको आवाज उठिरहँदा गाउँसमाजमा अहोरात्र खटिदै आएका महिला स्वयंसेविकाको व्यथा भने अलि फरक र दुखदायी छ ।

सुनसरीको बबियाकी हरिमाया दाहालले स्वयंसेविका भएर काम गर्दै आएको ३० वर्ष पुग्न लाग्यो । उमेरले ६९ वर्षिया दाहाल वृद्धावस्थामा समेत आफुले जानेको र सिकेको ज्ञान सकेसम्म समाजमा बाढ्दै हिंड्दैछिन् ।

त न कुनै तलब न अन्य आर्कषक सेवा सुविधा । स्वयंसेविकाको भूमिका समाजमा अहम मानिन्छ । राष्ट्रिय स्तरका अभियान हुन या स्थानीय तहमा संचालन हुने कार्यक्रम जसमा स्वयंसेविका अग्रस्थानमा रहने गर्छन् ।

स्वास्थ्य क्षेत्रका अलावा अन्य क्षेत्रका कार्यक्रममा समेत परिचालित हुने तिनै महिला स्वयंसेविकाहरु यदाकदा बाहेक एक कप चिया र बिस्कुटैमा टारिन्छन् । दिनभरको थकान र भोकप्यास एक कप चियामा टेस्टी बिस्कुट चोबेर खानुपर्ने बाध्यात्मक अवस्था हट्न सकेको छ्रैन् ।

बुधवार इनरुवा नगरपालिकाको कार्यालयले आयोजना गरेको कार्यक्रमका सहभागी नगरभरका महिला स्वयंसेविकाले त्यस्तै असन्तुष्टी पोखे । कार्यक्रममा यसअघि उपलब्ध गराइदै आएको ४ सय भत्तामा कटौती गरी २ सय मात्र दिइएको र नास्ता वापत एक कप चिया र टेस्टी बिस्कुट बांडिएपछि उनिहरुको आक्रोस छलाछुल्ल बनेर पोखिएको छ ।

सेवा सुविधा लगायतका विषयमा पटक–पटक आवाज उठाउँदा समेत आफुहरुको भूमिकाको मूल्यांकन नभएकोमा खिन्नताबोध गर्ने स्वयंसेविकाहरुले नगरपालिकामा धर्नानै दिए ।

भत्ता कटौती र नास्ताको विषयलाई लिएर रुष्ट बनेका इनरुवा नगरपालिका क्षेत्रभरका महिला स्वास्थ्य स्वंयसेविकाहरुले सामूहिक रुपमा इनरुवा नगरपालिकाको कार्यालयमा धर्ना दिएका हुन् । उनिहरुले उपप्रमुख जमुना गौतम पोखरेललाई भेटेर ज्ञापन पत्र समेत बुझाएका छन् ।

स्वयंसेविकाहरुले यसअघि आफुहरुले भत्ता वापत पाउँदै आएको ४ सय रुपैंया यथावत हुनुपर्ने र अन्य सेवा सुविधा समयानुकुल वृद्धिको अडान राखेका छन् ।

ज्ञापन पत्रमा मासिक तलबको व्यवस्था मिलाइनुपर्ने, पोशाक भत्ता वापत कम्तिमा १० हजार उपलब्ध गराइनु पर्ने र कार्यक्रम भत्ता वापतको रकममा वृद्धि गरिनुपर्ने जस्ता बुँदा उल्लेख छ ।

समाजमा रातदिन नभनी खटिने स्वयंसेविकाहरुको सवालमा विभेद हुँदैआएको बताउने इनरुवाकी अगुवा महिला स्वयंसेविका कमला शर्मा खत्वेले महंगीसँगै सेवासुविधाको व्यवस्था मिलाइनुपर्ने माग गरेकी छिन् ।

उता महिला स्वंसेविकाको असन्तुष्टीको विषयमा इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेलले सीमित बजेटका कारण यथोचित सुविधा दिन नसकिएकी बताइन् । स्वास्थ्यका क्षेत्रमा संचालन गरिने कार्यक्रममा स–सानो बजेट छुट्टिने र धेरै कार्यक्रम गरिनुपर्दा कतिपय अवस्थामा चाहेबमोजिमको प्रवन्ध मिलाउन नसकिरहेको जिकिर गरिन् ।

LIVE TV