कांग्रेस महासमिति बैठक कम्तिमा तीन दिन लम्बिने, विधान मस्यौदामा विवाद कायम



प्रकाशित मिति : Dec 18, 2018
  • अंगराज न्यौपाने,

काठमाडौं, ३ पुष । नेपाली कांग्रेसको महासमिति बैठक कम्तिमा पनि तीन दिन लम्बिने भएको छ । विधानमा सहमति जुट्न बाँकी रहेकोले बैठक पर्सिसम्म जारी रहने कांग्रेसले जनाएको हो ।

शनिबारदेखि काठमाडौंमा जारी बैठक बुधबारसम्म योगम्बर पार्टी प्यालेसमै र पर्सि पार्टी केन्द्रीय कार्यालय सानेपा सार्ने तय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । पूर्वनिर्धारित तालिका अनुसार महासमिति बैठक आज सकिनुपथ्र्यो । तर, नेताहरुबीच विधानमा सहमति नजुट्दा बैठक लम्बिएको हो ।

शीर्ष नेताबीच निरन्तर छलफल भएपनि विधान संशोधन मस्यौदामा सहमति जुटेको छैन । पदाधिकारी संख्या बढाउने कि नबढाउने र निर्वाचन प्रक्रियाबारे संस्थापन र इतर समूहबीच विवाद छ । संस्थापन पक्ष पदाधिकारी संख्या नबढाउने अडानमा रहँदा इतर समूह केन्द्रीय सदस्यसँगै पदाधिकारी पनि बढाउनु पर्ने पक्षमा छ । शीर्ष तहमा सहमति नभएपछि फरक मतसहितको मस्यौदा महासमिति बैठकमा पेश हुने संभावना बढेको छ ।

विहान स्थगित भएर दिउँसो तीन बजेपछि पुनः सुरु भएको बन्दसत्रमा क्षेत्रगत टोली नेताले यसअघि प्रस्तुत प्रतिवेदनमाथि धारणा राखिरहेका छन् । धारणा राख्ने अधिकांशले गुटबन्दी अन्त्य हुनुपर्ने, पार्टी संस्थागत र विधि सम्मत चल्नुपर्ने, नेता÷कार्यकर्तालाई न्यायोचित जिम्मेवारी दिनुपर्ने, प्रतिपक्षको भूमिका सशक्त हुनुपर्नेमा जोड दिएका छन् ।

केन्द्रीय समितिले विधान मस्यौदा प्रस्तुत गर्न नसकेपछि विहान बैठक तनाबग्रस्त भएको थियो । जिल्ला सभापतिहरुले विधानको मस्यौदा प्रस्तुत नगरेसम्म बैठक सुरु गर्न नदिने भनेपनि सभापति शेरबहादुर देउवाले बैठक सुरु गरेपछि हो–हल्ला भएको हो । सभापति देउवाले हो–हल्लाकै बीच बैठक स्थगित गरेपछि नुवाकोटका सभापति जगदिशनरसिंह केसीले बोल्न थाल्दा सह–महामन्त्री डा. प्रकाशशरण महतले माइक खोस्नु भएको थियो । माईक खोसाखोसपछि घम्सा–घम्सीको अवस्था सिर्जना भएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com