कांग्रेसको महासमिति बैठकस्थल परिवर्तन, भोलिदेखि पार्टी मुख्यालयमै



प्रकाशित मिति : Dec 18, 2018

काठमाडौं । नेपाली कांग्रेसले महासमितिको बैठकस्थल परिवर्तन गरेको छ । बैठक लम्बिएपछि चार दिनका लागि लिइएको पार्टी प्यालेस छोड्नु पर्ने भएकाले कांग्रेसले महासमिति बैठकमा बाँकी कार्यक्रम केन्द्रीय कार्यालय सानेपामै हुने जनाएको हो ।

यसैबीच, नेतृत्वले जिल्ला सभापतिलाई विधि र प्रकियाबाट विधानको मस्यौदा प्रस्तुत गर्ने आश्वासन दिएपछि बिहान स्थगित गरिएको महासमिति बैठक दिउँसो केही अगाडिबाट सुरु भएको छ । सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा नेतृत्वसँग भएको डेढ घण्टा लामो छलफलपछि जिल्ला सभापतिले बैठक चल्न दिएका हुन् ।

आफूहरुले राखेको अडान वेवास्ता गरेको भन्दै जिल्ला सभापतिले हो–हल्ला गरेपछि सभापति शेरबहादुर देउवाले विहान हतार–हतार बैठक स्थगित गर्नुभएको थियो । अहिले प्रस्तुत प्रतिवेदनमाथि क्षेत्रगत प्रतिनिधिले धारणा राखिरहेका छन् ।

धारणा राख्ने अधिकांशले गुटबन्दी अन्त्य हुनुपर्ने, पार्टी संस्थागत र विधि सम्मत चल्नुपर्ने, नेता÷कार्यकर्तालाई न्यायोचित जिम्मेवारी दिनुपर्ने, प्रतिपक्षको भूमिका बुलन्द हुनुपर्ने बताएका छन् । केन्द्रीय समितिले सहमति जुटाउन नसकेका कारण विधान मस्यौदा महासमिति बैठकमा प्रस्तुत हुन सकेको छैन ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com