काँग्रेस महासमिति बैठक : नेताहरुबीचमा झगडा र हात हालाहाल भएपछि बैठक स्थगित



प्रकाशित मिति : Dec 18, 2018

काठमाडौँ । शनिबारबाट जारी काँग्रेस महासमिति बैठकमा नेताहरुबीचमा झगडा र हात हालाहालको स्थिति सृजना भएको छ ।  काँग्रेसका सहमहामन्त्री डा . प्रकाशशरण महतले नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको हातबाट माइक खोसेपछि हात हालाहालको स्थिति सृजना भएको हो ।

मंगलबारको बैठकमा महासमिति सदस्यहरुले केन्द्रीय समितिबाट विधान पारित नभई छलफल अघि नबढ्ने भनेर अडान लिँदै आएका थिए ।

सभापति केसीले भने- ‘म बोल्दै थिएँ । एकाएक डा. महत आएर मेरो माइक खोस्न थाल्नुभयो । त्यसपछि धकेलाधकेल भयो । त्यसक्रममा माइक नै फुटेको छ ।’ उनले थपे- ‘विधान नआएसम्म बैठक अघि बढ्दैन भन्नेमा महासमिति सदस्यहरुबीच एकमत रहेको छ ।’

सहमहामन्त्री महत र केसीबीचको विवादमा अधिकाँश महासमिति सदस्यहरुले केसीको पक्ष लिएका छन् । हात हालाहालकै स्थिति आएपछि अहिले बैठक स्थगित गरिएको छ ।

पूर्व निर्धारित कार्यतालिका अनुसार काँग्रेसको महासमिति बैठक आज सकिने थियो तर, नेताहरुबीचको झगडा र असमझदारीले बैठक लम्विदै गएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com