सेनाका नक्कली ल्याप्टेन पक्राउ परेसँगै नेतृ भगवती चौधरीको टाउको दुखाइ सुरु



प्रकाशित मिति : Dec 18, 2018
  • अमर काफ्ले

इनरुवा । सुनसरी क्षेत्र नम्वर ३ बाट चर्चामा आइरहने राजनीतिकर्मीको नाम हो भगवती चौधरी । सोही क्षेत्रका हेविबेट नेता मानिने बिजयकुमार गच्छदारको प्रतिद्वन्द्वीका कारण समेत चौधरी चर्चामा रहने गरेकी छिन् ।

प्रतिनिधी सभा निर्वाचनमा गच्छादारसँग पराजित हुनुलाई तत्कालिन समयमा धाँधलीको आरोप लगाएकी तिनै नेतृ चौधरी यतिबेला स्वयं विवादको घेरामा तानिएकी छिन् ।

नेकपाकी प्रभावशाली नेतृ मानिने चौधरी नक्कली ल्याप्टेनको विषय बाहिरीएसँगै विवादमा मुछिएकी हुन् । चौधरीसामू विवाद सृजना गराउने पात्र बनेका छन् दुहवीका स्थानीय सुगम ठकुरी ।

आफुलाई नेपाली सेनाको सेकेण्ड ल्याप्टेन बताउने ठकुरी एकसाता अघि दुहवी बजार क्षेत्रबाट पक्राउ परेका थिए । सेनाको मान्छे भन्दै स्थानीयलाई ठग्दै हिंडेको आरोपमा ठकुरी पक्राउ परेका थिए ।

सुनसरी प्रहरीका अनुसार स्थानीयको सूचनाका आधारमा पक्राउ गरिएका ठकुरीलाई सरकारी कागजात किर्ते गरेको मुद्दामा अनुसन्धान थालिएको छ । यतिबेला ठकुरी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।

प्रहरी स्रोतका अनुसार ठकुरी २०६७ सालमा सात बर्षिया बालिका बलात्कारको आरोपमा समेत पक्राउ परेका थिए । जुनबेला ठकुरीको उमेर १४ वर्षको मात्रै थियो । जिल्ला अदालतले नाबालक भएकाले उनलाई अभिभावकको जिम्मा लगाएको थियो ।

प्रहरी अनुसन्धानका क्रममा नक्कली सेना भएको पाइएसँगै भगवती चौधरीको बडिगार्ड रहेको अवस्थाका ठकुरीका तस्विरहरु सार्वजनिक भएकाछन् । सार्वजनिक तस्विरसँगै चुनावताका सेनाको बर्दीमा चौधरीको चुनावी लगायतका कार्यक्रममा ठकुरीको उपस्थितीले नक्कली सेनाको प्रयोग किन गरियो भन्ने विषय यतिवेला स्थानीय तहमा चासो र बहसको बिषय बनेर देखा परेको छ । यहाँ सम्मकी नक्कली भनेर जान्दाजान्दै चौधरीले ठकुरीलाई आफुसँगै राखेर संरक्षण दिएको आरोप समेत लागेको छ ।

स्थानीयस्तरमा ठकुरी चौधरीको छोराको साथी भएको र सेनामा जागिर खाने उनको इक्षालाई चौधरीले सोर्सफोर्स लगाइदिएको बताइएको छ । भर्ना लगायतका प्रकृयामा महत्वपूर्ण भूमिका निर्वाह गरेकी चौधरीको सोर्समा ठकुरी सेनामा छनौट भएको विषय समेत बजारमा छाएको छ ।
ठकुरीले तालिम पुरा नगरी भागेको र त्यसपछि आफु सेनाको सेकेण्ड ल्याप्टेन भन्दै हिंड्ने क्रममा सार्वजनिक कार्यक्रममा अतिथि बनेर पुग्नुकासाथै चौधरी उपस्थित कार्यक्रममा संगसंगै बडिगार्ड सरह रहने गरेकोले नक्कली सेनालाई आश्रय दिएको आरोप यतिबेला नेतृ चौधरी उपर लागेको छ । जुन विषय स्थानीय स्तरमा विपक्षीकालागि राजनीतिको विषय बन्दै गएको जानकारहरुको बुझाई छ ।

नक्कली सेना पक्राउ परेपछि ठकुरीको विषय प्रशंगसँग नाम मुछिएपछि चौधरीले भने आपत्ति जनाएकी छिन् । चौधरीले आफुलाई बदनाम गर्ने प्रयास गरिएको भन्दै बाहिरिएको हल्ला निराधार रहेको प्रतिकृया दिएकी छिन् ।
छोरोको साथी भएकाले आवतजावत गर्ने र कहिलेकाँहीसंगै कार्यक्रममा भेट भएपनि आफुले कुनै सेनाको व्यक्तिलाई बडीगार्ड नराखेको उनले स्पष्ट पारिन् । हल्ला फैलिएजस्तो नक्कली सेनालाई आश्रय दिएको वा प्रयोग गरेको भन्ने विषय कपोकल्पित भएको चौधरीले दावी गरिन् ।

समाचारको विषयमा प्रतिकृया जनाउँदै चौधरीले दुहवीमा आयोजित एक कार्यक्रममा सेनाको पोशाकमा आएका ठकुरीले खिचेका केही तस्वीर सामाजिक सञ्जालमा बाहिरिँदा पछिल्लो घटनाक्रम सृजना हुन पुगेको बताइन् । यद्यपि चौधरीले आफुले कसैलाई जागिर लगाउन सोर्सफोर्स नलगाएको र नक्कली सेनाको विषयमा आफ्नो कुनै संलग्नता नरहेको जनाएकी छन् । उनले पक्राउ परेका व्यक्तिले भ्रम छर्ने काम गरेकाले कडा कार्वाहीको मागसमेत गरिन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com