२ पुष २०७५, सोमबार

बुटबल ।बुटबलमा रहेको जितगढी ऐतिहासिक सम्पदा हो । बुटवल उपमहानगरपालिकाले जितगढीलाई धरोहरका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । जितगढीको प्रमुख आकर्षण तत्कालिन अंग्रेज साम्राज्यलाई घुँडा टेकाउन सफल कर्णेल उजिरसिंह थापाको शालिक पनि हो । यो शालिकलाई पूर्णकदको बनाउने योजनामा उपमहानगरपालिका जुटेको छ ।


बुटवल उपमहानगरपालिकाले जितगढीको संरक्षणका लागि विशेष योजना अघि सारेको छ । कर्णेल उजिरसिंह थापाको पूर्ण कदको शालिकसँगै ठूलो राष्ट्रिय झण्डा बनाउने तयारी गरिएको छ । नेपाली फौजले अंग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको ऐतिहासिक स्थल जितगढीको महत्वलाई उजागर गर्दै पर्यटकीय स्थलको रुपमा विकास गर्ने उपमहानगरको लक्ष्य छ ।

९ फिट उचाईको तामाको पूर्णकदको शालिक र ९ फिट उचाईकै झण्डा बनाउने तयारी सुरु भएको छ । अहिले उजिरसिंहको उत्तरतर्फ फर्केको अर्धकदको सानो शालिक छ । अब दक्षिणतर्फ फर्केको पूर्ण कदको बन्नेछ । दुबै संरचना बनाउन ४४ लाख ५२ हजार ६ सय ८१ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । उपमहानगरपालिकाले जितगढीको ऐतिहासिक महत्व दर्शाउन विशेष योजना तयार पारेको जनाएको छ ।

शालिक र राष्ट्रिय झण्डाको टावर निर्माण कम्पनी हेभेन कन्स्ट्रक्सन प्रालिसंग उपमहानगरले ठेक्का सम्झौता गरिसकेको छ । दुबै संरचना दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । शालिक राख्न जमिनमाथि साढे दुई मिटर अग्लो र त्यसमाथि २५ दशमलव ७ ६ वर्ग मिटर उचाईको बेसमेन्ट बन्ने छ भने झण्डा राख्न २५ वर्ग मिटर उचाईको बेसमेन्ट बनाइने छ ।

बेसमेन्ट माथि नेपालको राष्ट्रिय झण्डा ४२ फिटको उचाईमा फहराउने छ । शालिकको बेसमेन्टको बाहिरी भाग जितगढी किल्लामा रहेका पुराना इट्टा जस्तै देखिने गरी इट्टाको आवरण झल्किने गरी बनाइने छ । झण्डाको माथिल्लो टावर स्टिलबाट र भुईको बेसमेन्ट कंक्रिटबाट बन्नेछ । जितगढीको छुट्टै गुरुयोजना निर्माण गरेर जितगढी युद्ध संग्रहालय, सूचना केन्द्र, पुरानो बुटवललाई प्राचीन बजार र पुरातात्विक स्थलको रुपमा विकास गर्ने योजना पनि रहेको छ । हालसम्म उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेकोमा उजिरसिंहको पूर्ण कदको शालिक र नेपालकै ठूलो राष्ट्रिय झण्डा राखिने भएपछि अब जितगढीले मुहार फेर्ने आशा जागेको स्थानीयको बुझाइछ ।

 

LIVE TV