२ पुष २०७५, सोमबार

काठमाडौं । एकमात्र केन्द्रीय बाल अस्पताल, कान्तिमा उपकरण अभावले सेवा प्रवाहमा समस्या भएको छ । अधिकांश उपकरण वर्षेनि ३० पटकभन्दा बढी बिग्रिन्छ । तर, अस्पताल प्रशासनले भने नयाँ खरिदमा भन्दा मर्मतमै जोड दिन्छ । सिटी स्क्यान र डिजिटल एक्सरे जीर्ण हुँदासमेत विकल्प खोजिएको छैन ।

विगत १ वर्षदेखि मर्मत गर्दै चलाउँदै आइएका दुवै मेसिन बिग्रिएपछि अस्पतालमा आउने बिरामीको उपचारमा असर परिरहेको छ । अस्पतालका अधिकांश उपकरण पटकपटक मर्मत गरेर चलाउँदा एक वर्षको अन्तरालमा ३० लाख भन्दा बढी खर्च हुने गरेको छ । हेमोग्ल्योबिंन, बिभिन्न रोगको संक्रमण र क्यान्सरका सेलहरु हेर्ने रगत परीक्षणमा प्रयोग हुने १० बर्ष पुराना उपकरण मात्रै वर्षेनि ३० पटक बिग्रिएका छन् ।

हेमोट्यालोजी एनालाईजर उपकरण बिग्रिएकाले दैनिक सय भन्दा बढी बालबालिकाको परीक्षणको रिपोर्ट ढिला आउने गरेको छ । उपकरण विग्रिएपछि अस्पतालले परीक्षाण गनुपर्ने बालबालिकाको एक्सरेका लागि टिचिङ लगायत अन्य अस्पतालमा महंगोमा परीक्षण गनुर््पर्ने बाध्यता छ ।

नयाँ उपकरण खरिद गर्न १२ देखि १५ लाख खर्च गर्नुपर्ने हुन्छ तर, मर्मतका नाममा भने एक पटकमा ५ देखि २० हजारसम्म खर्च हुने गर्दछ । अस्पतालका अनुसार गत वर्षमा अस्पतालमा सिटि स्क्यानक मर्मत गर्दा ३० लाख खर्च भएको थियो । अस्पतालमा एक्सरे मेसिन आवश्यक रहेको भन्दै स्वास्थ्य मन्त्रालयमा पटक पटक जानकारी गराएपनि मन्त्रालयबाट नयाँ एक्सरे मेसिन खरिदका लागि कुनै पहल नभएको अस्पतालको भनाइ छ ।

गत बर्ष २४ लाख ४४ हजार ९ सय ८१ रुपयाँमा खरिद गरेको दुई वटा अल्ट्रासाउण्ड मेसिन बाहेक अन्य सबै उपकरण जिर्ण छन् । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार सात÷आठ वर्षमा उपकरण परिवर्तन गर्नुपर्ने भएपनि २० वर्ष पुरानो उपकरण पनि चलाइरहँदा बिरामीको ज्यान समेत जोखिममा पर्न थालेको छ ।

 

LIVE TV