२ पुष २०७५, सोमबार

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी महासमिति वैठक लम्बिने भएको छ । केन्द्रीय कार्यसमितिले महासमिति वैठकमा पेश गर्नुपर्ने विधान संशोधनको मस्यौदामा सहमति जुटाउन नसकेका कारण बैठक पूर्व निर्धारित समयभन्दा लम्बिने भएको हो ।

मस्यौदाका विवादित विषय टुंग्याउन कार्यदल आज कार्यदलस्तरमा छलफल भएपनि सहमति जुट्न सकेन । अन्तिम प्रयास भन्दै मस्यौदाबारे केन्द्रीय समितिमा छलफल भने जारी छ । यो सँगै छलफलमा भाग लिन चाहनेको संख्या अधिक भएकाले पनि बैठक लम्बिने भएको हो ।

केन्द्रीय समितिको आकारमा लगभग सहमति भएपनि पदाधिकारी संख्या र निर्वाचन प्रक्रिया र सभापतिले मनोनित गर्ने केन्द्रीय सदस्य संख्यामा विवाद छ । संस्थापन पक्ष पदाधिकारी संख्या नबढाउने, बढाउनै परे बढाइएको संख्या सभापतिले मनोनित गर्न पाउनु पर्ने पक्षमा छ । संस्थापन इतर समूह भने केन्द्रीय सदस्यसँगै पदाधिकारी बढाउनु पर्ने र सबै निर्वाचित हुनुपर्ने अडानमा छ । बैठकमा विधान मस्यौदा पेश नभएपनि यसअघि प्रस्तुत राजनीतिक, सांगठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रस्तावमाथि छलफल जारी छ ।

उता, पार्टी हिन्दू राष्ट्रको पक्षमा उभिनु पर्ने भन्दै सुरु गरिएको महासमिति सदस्यको हस्ताक्षर संकलन पनि जारी छ । दुई दिनमा सात सयभन्दा बढी सदस्यले हस्ताक्षर गरेको बताइएको छ । कांग्रेस विधानअनुसार महासमिति सदस्यको एक तिहाईले लिखित माग गरेको विषयमा छलफल हुन सक्ने छ । विधानको त्यही व्यवस्था टेकेर हिन्दू राष्ट्रको प्रस्ताव बैठकमा पेश गर्ने हस्ताक्षर अभियानकर्ताको तयारी छ ।

LIVE TV