२ पुष २०७५, सोमबार
  • उत्तम पौडेल,

पोखरा, २ पुष । पूर्वराजा ज्ञानेन्द्र शाह पूर्व रानी कोमल शाहसहित कास्कीको पोखरा पुग्नु भएको छ । पछिल्लो समय देशको बिभिन्न भागको भ्रमणमा रहनु भएका पूर्व राजा शाह सोमबार पोखराको धार्मिक तथा पारिवारिक भ्रमणमा निस्कनु भएको हो ।

पोखरा पुग्दा पूर्वाराजा शाहलाई पोखरा विमानस्थलमा स्थानीय तथा राजसंस्थाका शुभेच्छुकहरुले स्वागत गरेका थिए । स्थानीयवासी, राप्रापा र शिवसेनाका नेता कार्यकर्ताले पूर्व राजा शाहको स्वागत गरेका थिए । उहाँलाई एक किलोको मालाले स्वागत गरिएको शिवसेना नेपालले जनाएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह करीब २ साता पोखरामा रहनु हुने बताइएको छ । पोखरा बसाईको क्रममा स्थानीय राजनीतिक दलका नेता तथा कार्यकतालाई पनि भेट्ने कार्यक्रम रहेपनि उहाँको यो भ्रमण पारिवारिक तथा धार्मिक हुने शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतले जानकारी दिनुभयो ।

पूर्व राजा ज्ञानेन्द्र पोखरा पुग्दा उहाँका शुभेच्छुकहरुले गणतन्त्र मुर्दावादको नारा लगाउँदै संघीयताको खारेजको माग पनि चर्काएका थिए । उहाँ पोखरा विमानस्थलदेखि आठ किलोमिटरको दूरीमा रहेको निर्मलपोखरी स्थित माउण्ट ग्लोरी रिसोर्टमा बस्नु भएको छ । भोलि आराम गरि पर्सिदेखि पूर्व राजा शाह धार्मिक स्थलहरुको भ्रमणमा निस्कने कार्यक्रम रहेको बताइएको छ ।

पछिल्लो समय पूर्वराजा राजनीतिक गतिविधिमा समेत देखिन थालेको भन्दै सत्तासिन दलका नेताहरुले यस्को विरोध गर्दै आएका छन् ।

 

 

LIVE TV