२ पुष २०७५, सोमबार

काठमाडौँ । पूँजीबजारको सुधारको माग राख्दै आएका शेयर लगानीकर्ता दबाव समूहले आजदेखि आमरण अनशनलगायतका कार्यक्रम सार्वजनिक गरेका छन् ।

नेपाल स्टक एक्सचेञ्जको कार्यालय बाहिर दबाव समूहका संयोजक हरि ढकाल र सदस्य तिलक कोइरालाले आमरण अनशन सुरु गरेको जानकारी दिए । दबाव समूहले विगत आठ दिनदेखि रिले अनशन गर्दै आएका थिए । उनीहरूले पूँजीबजार सुधारको मागमा सरकार र सरकारी निकायले ध्यान नदिएको गुनासो गरे ।

दबाव समूहका संयोजक ढकालले पूँजीबजारको सुधार गरी लगानीकर्ताको लगानी संरक्षण गर्नुपर्ने र लगानीको वातावरण बनाउनुपर्ने आफूहरूको माग रहेको बताए । उनले सरकारले गठन गरेको कार्यदलले आफूहरूको मागको सुनुवाइ नगरेको समेत गुनासो गरे ।

लगानीकर्ताले पूँजीबजारको बृहत्तर हितका लागि अत्यावश्यक ऐन, नियम र कानूनसमेत समयमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । दबाव समूहले अाज नेप्सेकाे कार्यालयअघि केहीबेर नाराबाजी नै गरेर शेयर काराबार ठप्प पारेका थिए । केहीबेर अवरूद्ध शेयर काराेबार पुन: सुरू भएकाे छ ।

सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठन गरेको कार्यदलले अर्थमन्त्री डा युवराज खतिवडालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

LIVE TV