२ पुष २०७५, सोमबार

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित भारत भ्रमणमा निस्किएका छन् । कर्मचारी समायोजनको मोडालिटीबारे अध्ययन गर्न अाइतबार भारतको नयाँदिल्ली भ्रमणमा निस्किएका हुन् ।

उनी मन्त्रालयको प्रशासन सुधार महाशाखाका प्रमुख भूपाल बराल, स्वकीय सचिव धर्म भट्टराई र आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाललाई लिएर कर्मचारी समायोजनबारे बुझ्न भारत गएका छन् । अाज कर्मचारी व्यवस्थापनको अभ्यासबारे भारतीय टोलीसँग आज छलफल गर्नेछन्।

मन्त्री पण्डितले भारतीय समकक्षीसहित त्यहाँका कर्मचारी तालिम प्रतिष्ठान प्रमुख, संघीय लोकसेवा आयोगका अध्यक्षलगायत पदाधिकारी, कर्मचारी प्रशासन हेर्ने निकायका अधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै कर्मचारीको वृत्ति विकास, बढुवा तथा सरुवा प्रणाली, स्थानीय तहका कर्मचारीको क्षमता विकासमा सहयोग लगायत विषयमा समेत मन्त्री पण्डितले स्थलगत अध्ययन गर्ने कार्यक्रम छ ।

सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन प्रक्रिया अघि बढाएसँगै छिमेकी मुलुकमा संघीय संरचनामा कर्मचारीको व्यवस्थापन के कसरी भएको छ र स्थानीय तहमा खटिएका कर्मचारीको क्षमता विकासमा त्यहाँको अभ्यास कस्तो छ भन्ने विषयमा छलफल एवं अध्ययन गर्न लागिएको मन्त्रालयले उल्लेख गरेको छ।

LIVE TV