१ पुष २०७५, आईतवार

काठमाडौं । विगत केही समयदेखि काठमाडौं उपत्यकाका सडकहरुमा धुलोको उपस्थिति न्यून देखिन थालेको छ । काठमाडौं उपत्यकाका सडकमा उड्ने धुलोलाई लिएर सर्वत्र आलोचना हुन थालेपछि सडक विभागले आफुसंग रहेका ब्रुमरहरु प्रयोगमा ल्याएर काठमाडौंका सडकहरुलाई चिल्लो बनाउने अभियानलाई तीब्रता दिएको छ ।

सडक विभागले अहिले काठमाडौंका सडकहरुमा आफुसंग रहेको अत्याधुनिक भ्याकुम मेसिनसहितको ब्रुमर सञ्चालनमा ल्याएको छ । सडक विभाग हेभी इक्विप्मेन्ट डिभिजन नयाँ वानेश्वरका डिभिजन प्रमुख टेकराज बोहराका अनुसार अहिले काठमाडौं उपत्यकाका सडकहरुमा सडक विभागका ३ वटा ब्रुमरलाई प्रत्येक दिन नौ घण्टा प्रयोगमा ल्याइरहेको छ ।

विभागसंग रहेका ३ वटा मध्ये सबभन्दा ठूलो क्षमताको ब्रुमरलाई रिङरोड र अन्य साना दुई ब्रुमरलाई काठमाडौंको भित्री सडकहरुमा प्रयोगमा ल्याइरहेको जानकारी पनि डिभिजन प्रमुख बोहराले दिए । रिङरोडमा विहान साढे ६ बजेदेखि साढे १० बजेसम्म र  भित्री सडकहरुमा विहान साढे ६ बजेदेखि विहान साढे नौ र साँझ ७ देखि १० बजेसम्म ब्रुमरको प्रयोग हुँदै आएको छ ।

‘विदा समेत नभनी खटिएका छन् हाम्रा कर्मचारीहरु , काठमाडौंको धुलोले जनताको स्वास्थ्यमा परेको असरप्रति सचेत बन्दै सडक विभागले यो कदम चालेको हो , काठमाडौंलाई धुलो मुक्त बनाउने दायित्व र अभिभारा हामीसंग पनि गाँसिएको छ ।’ डिभिजन प्रमख बोहराले न्यूज २४ नेपाल डट टिभीलाई बताए ।

‌ तस्बीरमा:  डिभिजन प्रमुख टेकराज बोहरा

सडक विभागले ठूलो क्षमताको ब्रुमरलाई गोपीकृष्णदेखि कलंकीसम्म प्रयोग गर्दै आएको छ भने अन्य दुई सानालाई शहरको भित्री भाग हुँदै काटेश्वरदेखि कलंकीसम्म प्रयोग गर्दै आएको छ ।

यता महानगरलाई धुलो र हिलो मुक्त बनाउने नारा दिएको काठमाडौं महानगरपालिकाले पनि आफ्ना दुई ब्रुमरलाई शहरको बिभिन्न भागमा प्रयोग गर्दै आएको छ । काठमाडौंको फेरिदो मुहारमा चुपचाप नै सही सडक विभागले गरेको सत्प्रयासको महानगरवासीहरुले प्रशंसा गर्दै आएका छन् ।

LIVE TV