१ पुष २०७५, आईतवार

काठमाडाैँ । हिजोदेखि सुरु भएको कांग्रेस महासमिति बैठकको बन्दसत्र सुरु भएको छ ।

पार्टीको रणनीति, संशोधित विधान लगायतका विषयमा छलफल गर्न तीन दिने बन्दसत्र सुरु भएको हो । बन्द सत्रमा कांग्रेस केन्द्रीय कार्यसमितिले पारित गरेको विभिन्न प्रतिवेदनमाथि छलफल हुनेछ । साथै, विधानको विषयमा महासमितिले आधार तय गर्ने बताइएको छ ।

उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा. शशांक कोइरालाले साङ्गठनिक, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश गरेका छन् ।

विधान मस्यौदाबाहेक सबै प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित पारित गरिसकेको छ भने विधान मस्यौदामा पदाधिकारी संख्या र पदाधिकारीको निर्वाचनबारे बहस जारी छ ।

पेश गरिएका प्रतिवेदनमाथि छलफल गर्न महासमिति सदस्यलाई प्रदेशस्तरीय रुपमा सात समूहमा विभाजन गर्ने वा समावेशी रुपमा विभाजन गर्ने भन्नेमा सहमति जुटाउने प्रयास भइरहेको छ ।

LIVE TV