१ पुष २०७५, आईतवार

काठमाडाैँ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले जित हात पार्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा सिटीले एभर्टनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको जितमा सिटीका लागि जिससले दुई र रहिम स्टर्लिङले एक गोल गरेका थिए । त्यस्तै एभर्टनका डोमिनिक काल्भर्ट लेविनले एक गोल गर्न सफल भए ।

खेलको २२औं मिनेटमा गोल गर्दै जेससले सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको सिटीले दोस्रो हाफमा दुई गोल गर्दा एक गोल खाएको थियो । खेलको ५० औं मिनेटमा जेससले अर्को गोल गर्दै सिटीलाई दोब्बर अग्रता दिलाएका थिए ।

खेलको ६५ औं मिनेटमा एभर्टनका लेविनले गोल गर्दै खेल २–१ को स्थितिमा पुर्याएका थिए । खेलको ६९ औं मिनेटमा सिटीका लागि स्टर्लिङले गोल गर्दै खेल ३–१ गोलअन्तरले जित दिलाए । जितसंगै सिटी शीर्ष स्थानमा उक्लिएको छ । सिटीले १७ खेलबाट ४४ अंक बनाएको छ ।

यस्तै, टोटनह्यामले कठिन जित हात पारेको छ । गएराति भएको अर्को खेलमा टोटनह्यामले बर्नेलीलाई १–० गोल अन्तरले पराजित गरेको हो । आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामका लागि क्रिस्टियन एरिक्सन नायक सावित भए । पहिलो हाफमा बराबरी खेलेको टोटनह्यामले खेलको अतिरिक्त समयमा गोल गरेकोे थियो ।

LIVE TV