२९ मंसिर २०७५, शनिबार

काठमाडौं । वैदेशिक रोजगारीको बाहानामा करोडाँै ठगेको बिषयमा रिपोर्टिङ गरेपछि हामीलाई २४ घण्टामा सिद्याउँछु भन्ने दाङका कमल कुमार न्यौपाने अझै पक्राउ परेका छैनन् । विभिन्न व्यक्तिलाई आयरल्याण्ड, पोल्याण्ड लाने भन्दै करोडाँै ठगेका कमल कुमार न्यौपानेको गिरोह हामीले देखाएका थियौँ । त्यसपछि उनले चौबिस घण्टामा सिद्याउने धम्की दिएका थिए ।

धम्की दिएको २ साता बढी भइसक्दा समेत उनी पक्राउ परेका छैनन् । बरु उनले र उनको गिरोहले विदेश पठाउने भनेर करोडाँै ठगेको अन्य व्यक्तिहरु हाम्रो कार्यालयमा आइरहेका छन् ।

उनले गोमा रेग्मीलाई पहिले पोर्चुगल र पछि पोल्याण्ड छिटो हुने भन्दै पटक पटक गरी ८ लाख रुपैयाँ लिएका छन् । त्यसपछि उनको हातमा पोल्याण्डको नक्कली भिषा थमाएका छन् ।

यस्तै रामकृष्ण वस्तीलाई पोर्चुगल लैजाने भनेर कमल कुमार न्यौपाने र उनको साथी प्रतिक शर्माले ९ लाख रुपैयाँ लिएका छन् । यस्तै राजेश श्रेष्ठलाई समेत युरोप लैजाने भनेर कमल कुमार न्यौपाने र प्रतिक शर्माले २ महिनासम्म भारतमा राखे भने पटक पटक गरी साढे १३ लाख रुपैयाँ बुझाएका छन् ।

त्यस्तै कुल बहादुर दर्लामीलाई समेत पोर्चुगल लैजाने भनेर २ महिनासम्म भारतमा राखे भने नक्कली भिषा थमाएर ९ लाख रुपैयाँ लिएका छन् । दाङ घोराइका केसी घनश्याम र उनका १२ जना आफन्तलाई करिब ८० लाख ठगेर अहिले फरार छन् ।

कमल कुमार न्यौपाने नेपालीहरुलाई युरोपको सपना देखाएर करोडाँै ठगी गर्ने व्यक्ति हुन् । उनका विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौं, केन्द्रीय अनुसन्धान व्युरो सिआइबीमा उजुर परेका छन् । तर उनी भने देश बाहिर लुकेर बसेको प्रहरी बताउँछ ।

LIVE TV