कांग्रेसका शीर्ष नेताको चाहना गुटबन्दीको अन्त्य, तर रोक्यो कसले ?



प्रकाशित मिति : Dec 15, 2018

काठमाडौं । गुटबन्दीले थिलथिलो भएको कांग्रेस पार्टीलाई एकढिक्का बनाउन भन्दै महासमिति बैठकमा जुटेको छ । महाधिवेशन पछिको अर्को ठूलो भेला मानिने महासमिति बैठकको उद्घाटन सत्रमा नेताहरुको अभिव्यक्ति सुन्दा÷बुझ्ला सबै गुट विरोधी झैं देखिन्छन् । तर, व्यवहारमा उनीहरु नै गुट-उपगुट बनाउन र त्यसको नेता बन्न सक्रिय छन् ।

कांग्रेसलाई बैचारिक रुपमा स्पष्ट, सांगठनिक रुपमा एकताबद्ध र मुद्दागत रुपमा जनपक्षीय बनाउने उद्देश्यका साथ सुरु भएको महासमिति बैठकमा कार्यकर्ताको मुख्य चासो गुटबन्दीको अन्त्यमै छ । कार्यकर्ताको चाहना बुझेर हो वा यथास्थितिमा कांग्रेस बौरिन नसक्ने ठानेर उद्घाटन सत्रमा धारणा राख्ने सवै नेताले ‘गुटरहित कांग्रेस बनाउनु पर्नेमा जोड दिए । तर, यसरी जोड दिने नेता भने आफूलाई मूल कांग्रेसको भन्दा पनि खास गुट÷उपगुटको नेताका रुपमा उभ्याउन प्रयासरत छन् ।

कांग्रेसको शीर्ष तहमा ३ वटा समूहको अस्तित्व छ । सभापति देउवाको नेतृत्वमा संस्थापन, बरिष्ठ नेता रामचन्द्र पौडेलको अगुवाईमा संस्थापन इतर र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संरक्षकत्वमा तेस्रो धार । गुट स्थायी भएपनि यसका सदस्य भने ‘मौका’ हेरेर कहिले यता त कहिले उता हुन्छन् । तर, कुनै न कुनै समूह वा उपसमूहको नेतृत्व गर्ने नेता नै गुटबन्दी अन्त्यको रटान लगाइरहेका छन् । महाधिवेशनमा देउवालाई सघाएका र अहिले पौडेल कित्तामा आएका अर्जुननरसिंह केसीसमेत गुट अन्त्य हुनुपर्नेमा जोड दिन्छन् ।

कित्ता परिवर्तन गरेका केसी रामचन्द्र पौडेल, संशाक कोइराला र कृष्णप्रसाद सिटौलालाई मिलाउने अभियानमा देखिन्छन् । जुन गुट थप मजबुद बनाउने प्रयास हो । तेस्रौ महाअधिवेशनमा सभापतिको उम्मेदवार भएर तेस्रो धार बनाएका र सकेसम्म आफ्नो गुटमा यूवालाई भित्र्याउने प्रयासमा रहेका सिटौला पनि गुटकै कारण कांग्रेस कमजोर बनेको बताउँछन् ।

सांगठनिक नेतृत्व गर्ने महामन्त्री शशांक कोइराला कोइराला परिवार भित्रैकै गुट स्थागत गराउने प्रयासमा छन् । जसलाई सुजाता र शेखरले सघाएका पनि छन् । हिन्दू राष्ट्रको मुद्दामा सहानुभूति बटुल्ने प्रयासमा रहेका कोइराला त्यसले आफ्नो समूहको आकार बढाउनेमा विश्वस्त देखिन्छन् । उनी पनि महासमितिले एकताकै सन्देश दिनुपर्ने बताउँछन् ।

संस्थागत रुपमै गुटको नेतृत्व गरिरहेका र सांगठनिक संरचनामा समेत गुटगत भागवण्डाको अपेक्षा गर्ने रामचन्द्र पौडेल हुन् या बहुमतको बलमा इतरलाई ‘पेल्ने’, पार्टी सञ्चालमा एकलौटी गर्ने सभापति शेरबहादुर देउवा नै किन नहुन्, सबै–सबै पार्टी एकतावद्ध हुनुपर्नेमै जोड दिन्छन् ।

नेताहरुले यसरी नै धेरै पटक गुट अन्त्यको उद्घोष नगरेका होइनन् । तर, व्यवहारमा गुटको चक्रव्यू बढ्दैछ । र, यसले नै कांग्रेसलाई कमजोर बनाइरहेको छ । सबै नेता गुटबन्दी अन्त्यको चाहना राख्छन् । तर, एक अर्काविरुद्ध प्रयोग हुन्छन् । राखेको चाहना पूरा हुन नदिने नदिने दृश्य÷अदृश्य शक्ति कुन हो, महासमिति बैठकले नि¥क्र्यौल गर्न सक्यो भने त्यो नै कांग्रेसका लागि संजिवनी बुट्टी झै हुने छ ।

 

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com