अन्ततः शुद्धोदन भए ‘शुद्ध’ : सबैले स्वीकारे ‘यस हि इज रियल्ली फाइटर’



प्रकाशित मिति : Dec 15, 2018
  • समयः ५ बजेर ४५ मिनेट साँझ
  • मितिः २६ अक्टोबर २०१८
  • स्थानः पोर्टल्याण्ड ओरेगन, वासिंगटन काउन्टी अदालत

एउटा निरीह नेपाली जो अकल्पनीय जेल सजायको सन्मुखमा थियो । जुरीको राय बमोजिम न्यायाधीशले फैसला सुनाउने समयमा उस्को हालत कस्तो थियो होला त्यो पनि पराई देशमा । सहजै सबैले अनुमान लाउन सकिन्छ पनि । कसैले पनि बच्न र उम्कन गाह«ो छ भनेको उनको मुद्दामा स्वयं उनको तर्फबाट लडने वकिल पनि थुरथुरी काँपिरहेकी थिइन । मात्र उनलाई भगवानप्रति , आफैप्रति र आफ्नो आत्मविश्वासप्रति मात्र विश्वास थियो । अन्ततः त्यो दिन सुनाईने फैसलाको १४ नम्बरको मुद्दावाला व्यक्तिले सफाई पाए , निर्दोष सावित भए , एक बर्ष लामो कहालीलाग्दो सजाय, त्रास र पीडाबाट मुक्ति पाउने नेपाली थिए – नेपालको एक समयको उनै कुशल तेक्वान्दो फाइटर शुद्धोदन रञ्जीत ।

एउटा भयावह, कहाली र भनौ नर्ककै नजिक पुगेर फर्किएका रञ्जीतले मुद्दा जितेपछि सारा अमेरिकी न्यायिक जगतमा उनको विषयलाई लिएर वहस र टिप्पणी भए । मुद्दा थियो , तेक्वान्दोका आफ्ना चेलीहरुमाथि गरेको यौनजन्य दुव्र्यवहार । जस्मा उनलाई १९ मुद्दा लागेका थिए र एउटा मुद्दामा मात्र दोषी ठहरिएको भए उनलाई ७ बर्ष जेल सजाय निश्चित थियो । यसप्रकारले १९ वटै मुद्दामा दोषी सावित भएको भए शुद्धोदनले फर्केर न नेपाल देख्न पाउथे न साथीभाई नत परिवार नै । उनले मानेको, जानेको र विश्वास गरेको भगवानले उनीमाथि कृपा बर्साएको महसुस गरिरहेका छन् उनी यतिखेर र त्यही भगवान र देवीदेवतामाथि गरेको भाकल पूरा गर्न र उनै देवीदेवताको गुन र ऋण तिर्न नेपाल आइपुगेका छन् ।

यसरी फसे शद्धोदन

नेपालको तेक्वान्दोमा फ्लाइवेटमा आफ्नो समयको सबभन्दा कुशल खेलाडी हुन शुद्धोदन । आफ्नो समयमा राष्ट्रिय च्याम्पियनशीपमा अपराजित रहेका शुद्धोदन पछि तेक्वान्दो प्रशिक्षकको जिम्मेवारीमा रहदा रहदै २३ बर्ष अघि सुखद भविष्यको स्वर्णीम सपना बोकेर सपनाको देश अमेरिकातर्फ हानिए । काठमाडौंको जैसिदेवल निवासी शुद्धोदनले अमेरिकाको ओरेगनस्थित पोर्टल्याण्डमा बसेर तेक्वान्दो सीपलाई थप निखारे । पोर्टल्याण्डमा आफ्नै तेक्वान्दो डोजाङ खोलेर उनले १० हजार भन्दा बढीलाई तेक्वान्दोको कला बाँडे । उनले तेक्वान्दोको यही कर्मबाट मनग्ये कमाए, पोर्टल्याण्डमा आलिसानको बंगला खरिद गरे , लोभलाग्दो तवरबाट सम्पत्ति पनि आर्जन गरे ।

हो यही सम्पत्तिबाट लोभिएका उनकै तीन किशोरी खेलाडीले उनलाई आफुहरु माथि यौन दुव्र्यवहार गरेको आरोपमा अमेरिकी अदालतमा मुद्दा दायर गरे । घरमा बसिरहेको समयमा अकस्मात आइपुगेका अमेरिकी प्रहरीले उनलाई केही कुरा राख्ने मौका समेत नदिइ हात र खुट्टामा हतकडी र नेल लगाएर घिसार्दै हिरासतमा लगेर कोचे । ‘के आइप¥यो यो फसाद’ उनमाथि भगवान पुकार्नु शिवाय अर्को कुनै विकल्प पनि रहेन त्यतिखेर । २०१७ नोभेम्बरको यो घटनासंगै उनको केस अघि बढ्दो । पहिलो पटक उनी सात दिन थुनामा बसेर ७ लाख ५० हजार अमेरिकी डलर घरौटीमा रिहा भए , मुद्दा अघि बढिरह्यो, दोस्रो पटक पनि उनी सोही बराबरको धरौटी र सोही दिन बराबरको थुनामा बसेर मुक्त भए ।

सबैले भने ‘भाग अब बाँच्दैनस्’

किशोरहरुमाथिको दुव्र्यवहारलाई अमेरिकामा निकै कठोर मुद्दा मानिन्छ । सुरुमा उनको तर्फबाट लड्नका लागि कोही वकिल समेत तयार भएनन् । सबैले निराश पारे उनलाई ‘यो जित्न नसक्ने मुद्दा लडेर व्यर्थ किन समय फ्याल्नु’ । तर आफ्नो विश्वास रत्तिभर पनि नगुमाएका , देवी देवताप्रति अगाध आस्था राख्ने र अमेरिकी कानूनको सम्मान गर्ने शुद्धोदन भने अलिकति पनि विचलित भएनन् । अन्ततः उनलाई साथ दिने वकिल पनि निस्किइन – जो वा ह्येम । ह्येमले सकेसम्म प्रयास गर्छु भन्दै मुद्दा लिइन र लागेको सबै रकम चुक्ता गर्ने शर्तमा शुद्धोदनको ‘केस’लाई लिएर मात्र उनी अघि बढिन् ।

दुई पटक हिरासत बास पछि उनले तेस्रो पटक ठ्याक्कै दुई महिना अमेरिकी जेलको हावा खानु प¥यो , धरौटी राखेर निस्कने रकम नहुँदा उनले जेल नै रोज्न बाध्य भए । अमेरिकामा रहेका नेपाली वकिलहरुले पनि हरेस ख्वाएका शुद्धोदन भने कहिले हरेस खाएनन् । उनी यौन दुव्र्यवहारको मुद्दामा जेल परेपछि उनको फोटो पोर्टल्याण्डको भित्ताभर टाँसियो, टेलिभिजनको स्क्रिनमा देखाइयो । शुद्धोदनले अन्य कोहीलाई पनि दुव्र्यवहार गरेको भए निवेदन हाल्न आव्हान गरियो, यति गरेपछि थप दुई किशोरी पनि थपिए । तेक्वान्दो सिकाउँदा आफुहरुलाई गलत व्यवहार गरेको उनीहरुको आरोप थियो ।

‘वैगुनी मात्र नभई गुनी मान्छे पनि कमाएको रहेछु’

शुद्धोदनले पोर्टल्याण्डमा रहँदा सिकाएका तेक्वान्दोका प्रशिक्षार्थीहरु अहिले एक जना ओरेगन राज्यको गभर्नर बनेका छन् भने विभिन्न क्षेत्रको विशिष्ठ पदमा पुग्नेहरु पनि औलामा गनिनसक्नु छन् । उनीमाथि अकल्पनीय आरोपमा मुद्दा दायर भएको भन्दै उनका यिनै सहयोगीहरु शुद्धोदनले यसो गर्न सक्दैनन् भन्दै अदालतसम्म पुगे , उनको लागि मुद्दा जित्ने यो पनि महत्वपूर्ण आधार बन्यो । उनलाई वासिंगटन काउन्टी अदालतले वयानको क्रममा नेपाली र नेवारी भाषाको दोभाषेसम्म व्यवस्था गरिदियो ।

उनको ‘केस’को सुनुवाईका लागि १४ जना स्वतन्त्र जुरीको व्यवस्था समेत भयो । जो समाजका बिभिन्न क्षेत्रबाट आएका लब्धप्रतिष्ठित व्यक्ति पनि थिए । लामो वहस पछि अन्ततः जुरीको वहुमत अर्थात १२ जनाले शुद्धोदन ‘शुद्ध’ भएको अर्थात निर्दोष भएको ठहर न्यायाधीश समक्ष बुझायो । अन्ततःफैसला उनको पक्षमा आएपछि उनीभन्दा बढी खुसी उनकी वकिल ह्येम बनिन ।

उनैले फैसला पछि अदालत परिसरमा रहेका टिभी जर्नलिष्टहरुलाई पनि लामै अन्तर्वाता दिइन् । अहिले यो जटिल मुद्दामा पाएको विजय पछि ह्येमको भाउ अकासिएको छ भने शुद्धोदनको फैसला एउटा गतिलो नजिर बनेर अमेरिकी अदालतहरुमा फैलिएको छ । तेक्वान्दो सिकाउँदा गुरुले चेलीको शरीरका ‘संवेदनशील’ बाहेक अन्य अंगमा ‘छुनु’ तेक्वान्दो प्राकृतिक नियम नै रहेको अमेरिकी अदालत र जुरीले स्वीकार्यो र किशोरीहरुको अभियोगमा कुनै दम नभएको निष्कर्ष सुनाईयो ।

परिवारमा फर्किएको खुसी

शुद्दोदनमाथि आरोप लागेपछि र मुद्दा चलेपछि उनकी धर्मपत्नी रिता श्रेष्ठले रोएर नै दिनरात काँटिन । आफैमा एक समय नेपालको चर्चित र सफल खेलाडी रहेकी रिता नेपालका लागि एशियन तेक्वान्दो च्याम्पियनशीपमा काँस्य पदक जित्ने सफल खेलाडी पनि हुन् । आफ्ना पतिमाथि अगाध विश्वास राखेकी रिताको आँशु शायद रोएर सकियो । शुद्धोदनकी छोरी स्मिता पनि अमेरिकामा खेलाडी अध्याय पूरा गरेर अहिले प्रशिक्षकको भूमिकामा छिन् । उनीहरु पूरा परिवार नै अहिले अमेरिकामा ‘तेक्वान्दो विजिनेश’मा समर्पित छन् ।

शुद्धोदनले सफाई पाए लगत्तै परिवारसहित नेपाल फर्किए । केही समयपछि कर्मथलो अमेरिका फर्कदै गरेका शुद्धोदन त्यो कहाली सम्झदै भन्छन् ‘यस्तो विपत्ति कसैलाई आइनलागोस, म भगवान मान्ने मान्छे, कहिले पनि आत्मविश्वास गुमाउन नचाहने मान्छे र अमेरिकी कानूनको सम्मान गर्न जानेकोले पुर्नजीवन पाए , धन्य छु ।’ मुद्दा जितेपछि अमेरिकी ठूला निकायहरुसंग पनि नजिकिने अवसर पाएका शुद्धोदनलाई हार खान नमानेपछि सबैले भन्ने गर्छन ‘यस हि इज रियल्ली फाइटर’ ।

 


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com