२९ मंसिर २०७५, शनिबार

भक्तपुर । चाँगुनारायण नगरपालिकाले थाई सरकारको सहयोगमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्ने भएको छ ।  नगरपालिकाकाे वडा नं. ७ स्थित बागेश्वरी हेल्मेट डाँडामा रहेको १ रोपनी १२ आना सार्वजनिक जग्गामा बहुउद्देशीय भवनको शिलान्यास गरिएको छ ।

१ करोड लागतमा निर्माण गर्न लागिएको उक्त बहुउद्देश्यीय भवनको आज थाइल्याण्डका राजदूत भकवत तान्स्कुँलले सिलान्यास गरे । भवन निर्माण कार्य आठ महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष्य रहेको नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले जानकारी दिए ।

भवन सिलान्यास कार्यक्रममा थाई राजदूत भकवत तान्स्कुँलले २०७२ सालको भूकम्पपछि देखिएको समस्या समाधानका लागि थाइल्याण्डका जनताले विपद व्यवस्थापनका लागि सहयोग प्रदान गर्न सुरु गरेकोले त्यहाँको जनताको सहयोगबाट नेपालका सात जिल्लामा यस्ता भवन निर्माण गरिने बताए । साथै भूकम्प सुरक्षा सम्बन्धी तालिम सञ्चालन र थाइल्याण्डका जनताबाट नेपाली जनताको जिविकोपार्जन र पुर्नत्थानका लागि २०–२० लाख अमेरिकी डलरको सहयोग गरेको उनले जानकारी दिए ।

राजदूत भकवतले दुई देशबीचको मित्रता सद्भाव र सम्बन्ध प्रगाढ बनाउनका लागि स्वास्थ्य मन्त्रालयलाई १५ लाख अमेरिकी डलरको सहयोग र नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्त संचार सेवाको पुर्ननिर्माणका लागि ४० लाख अमेरिकी डलरको सहयोग गरेको बताए । ‘नेपालले यसवर्ष थाई सरकार र नेपाल सरकारको कुटनीतिक सम्बन्धलाई बलियो बनाउन ६० औं बार्षिक उत्सव मनाई रहँदा यो अवधिमा दुई देशबिचको सम्बन्ध धेरै नै राम्रो भएको छ,’ उनले भने ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख तथा स्थानीय परियोजना निर्देशन समितीका संयोजक सोम प्रसाद मिश्रले थाई जनता र नेपाली जनताको सहयोगले भवन शिलन्यास भएको बताउँदै विपद व्यवस्थापनको क्षेत्रमा चाँगुनारायण नगरपालिकाले महत्वपूर्ण काम गरेको बताए ।

मेयर मिश्रले जोखिम संवेदनशील भु–उपयोग नीतिको निर्माण, विपद व्यवस्थापन तथा जलवायु उतथानशील योजनाको अनितम चरणमा पुगेको बताए । विपदको समयमा सुरक्षित आवासको आवश्यकतालाई मध्यनजर गर्दै आज यो शिलन्यास गरेको बताउँदै उनले थाईल्याण्ड र नेपालको ६० वर्षको सम्बन्धमा कुनै समस्या नआएको र दुई देशबीचको सम्बन्ध अझ सुधार हुँदै मजबुत भएको बताए ।

LIVE TV