काठमाडौंमा बढ्दो वायु प्रदुषण, कपडाको माक्सले छेक्दैन धुँवा–धुलो



प्रकाशित मिति : Dec 14, 2018

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदुषणको मात्रा निरन्तर बढिरहेको छ । वातावरण विभागले काठमाडौं उपत्यकाको सात स्थानमा गरिरहेको मापनले प्रदुषण अनियन्त्रित बन्दै गएको देखाएको हो । काठमाडौंमा गाडी, कलकारखानाजस्ता मानव सिर्जित प्रदूषण यस्तो छ कि, यहाँ सास फेर्दा अक्सिजनभन्दा बढी फोक्सोमा विषाक्त हावा प्रवेश गर्छ ।

अनौपचारिक अध्ययनअनुसार काठमाडौंमा औसत हरेक पाँच जनामध्ये एक जनाले ‘माक्स’ लगाउँछन । र, काठमाडौंबासीमा नाक, कान, घाँटीको समस्या वर्षेनी ३० प्रतिशतले बढेको छ । यि दुवै समस्याको जड हो–निरन्तर बढिरहेको प्रदुषणको मात्रा । विश्व स्वास्थ्य संगठनका अनुसार हावामा पाइने पीएम २ दशमलव ५ भन्दा कमका सुक्ष्म कणमा सल्फेट, नाइट्रेट, कालो कार्वन लगायतका प्रदूषक हुन्छ । जुन मानवस्वास्थ्यका लागि घातक हो ।

वातावरण विभागले काठमाडौं उपत्यकाको सात स्थानबाट वायुमा रहेको धुलो र धुँवाको मात्रा मापन गरिरहेको छ । धुलोका कणलाई तीन तह (पीएम १०, पीएम २ दशमलव ५ र पीएम १ बाट मापन गर्दै आएको विभागका अनुसार पीएम २ दशमलव ५ भन्दा कम रहेका धुलो तथा धुवाका कण माक्सको प्रयोगबाट पनि रोकिदैन ।

पछिल्लो एक साताको वायु प्रदुषण मापनअनुसार हावामा रहेका पीएम १०, पीएम २ दशमलव ५ र पिएम १ को मात्रा दैनिक बढिरहेको छ ।

विवरण आइतबार सोमबार मंगलबार बुधबार विहेबार शुक्रबार

  • पीएम १० माइक्रोग्राम/घनमिटर ९५.२१ ७१.८७ ८०.१९ ७२.४० १०३.३६ ११२.८९
  • पीएम २.५ माइक्रोग्राम/घनमिटर ६६.७० ४८.४१ ५२.९९ ५०.४७ ७१.८५ ८६.५७
  • पीएम १ माइक्रोग्राम/घनमिटर ५६.७० ३९.९० ४३.८४ ४३.०५ ६०.३३ ७६.८१

स्रोत : वातावरण विभाग

धुलो र धुँवाको मात्रा मात्रै मापन गर्दै आएको विभागले यही आर्थिक वर्षभित्र हावामा रहेका रहेका सम्पूर्ण हानिकारक प्रदुणको मापन गर्ने प्रविधि भित्र्याउँदै छ । अन्तर्राष्ट्रिय पर्वतीय एकीकृत विकास केन्द्र (इसिमोड) को आर्थिक सहयोगमा करिब ५ अर्वको लागतमा स्थापना गरिने अत्याधुनिक मापन केन्द्रले प्रदुषणको यथार्थ तथ्यांक दिने छ ।

धुलो र धुँवा नै प्रदुषणको मूल कारण हो । तर, सरकार र सरोकारवाला निकाय नियन्त्रणभन्दा ‘माक्स’को प्रयोगलाई प्रोत्साहित गरिरहेका छन् । प्रदुषणबाट बच्न उपत्यकाबासी कपडासहित सर्जिकल वा ‘डिस्पोजेबल’ मास्कको प्रयोग गरिरहेका छन् । तर, चिकित्सकका अनुसार ति माक्सले काठमाडौंको प्रदुषण थेग्न सक्दैन ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com