प्रदेश १ सरकार र एन्फाबीच सम्झौता, प्रत्येक बर्ष लिग र मुख्यमन्त्री कप फुटबल हुने



प्रकाशित मिति : Dec 14, 2018
  • तारा आचार्य,

विराटनगर, २८ मंसिर । एक नम्बर प्रदेशमा वर्षेनी मुख्यमन्त्री कप प्रदेश नं. १ लिग फुटबल प्रतियोगिता र अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ ।

शुक्रवार विराटनगरमा आयोजित एक कार्यक्रम बीच एक नम्बर प्रदेश सरकार र अखिल नेपाल फुटबल संघ एन्फा बीच फुटबल प्रतियोगिता गराउने विषयमा सहमति भएको छ । कार्यक्रममा मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे र अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

प्रतियोगिताका लागि प्रदेश सरकारले वर्षेनी एक करोड रुपैयाँ उपलब्ध गराउने सहमति भएको छ । पाँच वर्षका लागि गरिएको सो सहमतिमा प्रत्येक जिल्लामा फुटबल लिग गराएर प्रदेश लिग गराउने सम्झौता पत्रमा उल्लेख छ । यसैगरी अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगिताका लागि छुट्टै एक करोड रुपैयाँ उपलब्ध गराउने सहमति भएको छ ।

अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलमा प्रदेशका सात टिम, ए डिभिजनका फुटबल टिम र विदेशी टिम गरी १६ टिम अनिवार्य सहभागी गराउने सम्झौतामा उल्लेख गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राई र अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटबलको इतिहास मै सरकारको तर्फबाट गरिएको प्रयासले फुटबल खेलको विकासमा ठूलो सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com