जन्ती गएकाहरु मलामी बनेर फर्किएपछि बाँकेको सोनारीका गाउँ शोकमा



प्रकाशित मिति : Dec 14, 2018
  • भगतराम थारु,

नेपालगन्ज, २८ मंसिर । बाँके राप्ती सोनारी ८ ओभरी गाउँ यति वेला पुरै गाउँ शोकमा डुवेको छ । जन्ती बोकेको स्कारपियो र बस एक आपसमा जुझ्दा ६ जनाको मृत्यु भएपछि बाँकेको ओभरी शोकमा डुवेको हो । शोकमा रहेका ओभरी यतिवेला सुनसान बनेको छ । यहाँका मानिसहरु निःशब्द छन् । प्रत्येकको मुहार मलिन छ । घरी भक्कानिन्छन् त कोही मृतक आफन्तलाई सम्झिएर चिच्याउँछन् । सम्झाउने मान्छे समेत छैनन् । ‘हिजो रातिसम्म खुसियाली थियो । बिहानै गाउँमा सन्नाटा छाएको छ ।’

वडा अध्यक्ष खिमबहादुर बस्नेतले भन्नुभयो,—‘यहाँ सम्झाउनेसम्म मान्छे छैनन् । सबैका आफन्त घटनामा परेका छन् । कस्ले कस्लाई सम्झाईदिने ? हामी अब गर्नुपर्ने धार्मिक काममा खटिएका छौं ।’ वडा अध्यक्ष बस्नेतका अनुसार, ध्वजापताकाले सजिएको बिबाह घरमा अहिले शोकले भरिएका आफन्त र गाउँलेहरु जम्मा भएका छन् । मृतकहरुको शव शुक्रवार नै दाहसंस्कार गरिएको छ । जन्ती गएका नै अन्तिम संस्कारका लागि घाटमा पुगेका थिए ।

रमाईलो ठाउँमा दुखको अनुहार देखाउन परेको छ एक स्थानियले भने । प्रदेश सभासद कृष्णा केसीले उक्त घटनाले आफुलाई मर्माहत बनाएको बताए । ‘सुन्दै अपत्यारिलो घटनाले मलाई निकै दुःखी बनायो ।’ उनले भने । मृतकहरु शिक्षकदेखि व्यवसाय क्षेत्रमा क्रियाशीलहरु छन् । बिवाहको जीप बिहीबार बिहान दुई बजेतिर दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक दुर्घटना हुँदा बेहुलाका आमा बुवा सहित छ जनाको निधन भएको थियो ।

चितवन गितानगरबाट बेहुली लिएर बाँके घर फर्किने क्रममा बा १२ च ३१२२ नम्बरको स्कारपियो जीप र महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस बिहीबार बिहान २ बजेतिर एक आपसमा ठोक्किएको थियो । उक्त दुर्घटनामा परी मृत्यु हुनेहरुमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीया विमला खत्री, ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दीपककुमार खड्का र बाँकेको कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।

मानबहादुर केसी र विमला खत्री बेहुला यज्ञ खत्रीका आमा बुवा हुन् । दुर्घटनामा बेहुलाकै आफन्त ४५ वर्षीया गितादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा राखिएको छ । बेहुला र बेहुली भने अर्काे गाडीमा थिए । बुवा आमा र आफन्त चढेको जीप भने विपरित दिशाबाट आइरहेको बससँग ठोक्किएको हो ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com